आइतवार, माघ १२, २०८२ | January 25, 2026

ग्रिन भिलेजमा अक्षरारम्भसहित सरस्वतीको अर्चना

ग्रिन भिलेजमा अक्षरारम्भसहित सरस्वतीको अर्चना

  • Naveen Sanchar

  • आइतवार, माघ १२, २०८२

  • 118
    Views
ग्रिन भिलेजमा अक्षरारम्भसहित सरस्वतीको अर्चना

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ ।

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।

कीर्तिपुरको भत्केपाटीस्थित ग्रिन भिलेज एजुकेसन फाउण्डेसन परिसर सरस्वती पूजाका दिन यस्तै मन्त्रले गुञ्जायमान थियो । सो अवसरमा पूर्वबाल्यावस्थाका विद्यार्थीलाई अक्षरारम्भ गराइनुका साथै प्लेग्रुपमा भर्ना समेत गरिएको छ । वसन्त पञ्चमीका दिन विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको ग्रिन भिलेजमा आफ्नो सन्तानलाई भर्ना गरेको एक अभिभावकले बताउनुभयो । सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने विश्वास सहित विद्याथी, अभिभावक र शिक्षकको घुइँचो लागेको थियो ।

 

साहित्य, संगीत, ज्ञान–विज्ञान, कलाकी देवी माता सरस्वतीको जन्मोत्सवमा विधिपूर्वक पूजा अर्चना गर्नाले विद्या र वाणीको आर्शिवाद प्राप्त हुने विद्यालयका संस्थापक प्रिन्सिपल रवि भण्डारीले बताउनुभयो । सरस्वती पूजा केवल धार्मिक परम्परा मात्र नभई ज्ञान, साहित्य, कला र संगीतको आराधना गर्ने दिन भएको प्रिन्सिपल भण्डारीको भनाई छ । ‘सरस्वती माताको कृपाले शिक्षा र सृजनशीलता प्राप्त गर्न सकिन्छ।’ उहाँले भन्नुभयो- ‘यो पर्वले नयाँ पुस्तालाई विद्या, बुद्धि र कलामा प्रगति गर्न प्रेरित गर्दछ ।’

समारोहमा विद्यार्थीले विद्याकी अधिष्ठात्री देवी सरस्वतीको भजनकीर्तन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा माता सरस्वतीलाई अबिर, मिष्ठान्न, श्रृंगारका वस्तु, फूलमाला चढाई सरस्वती मन्त्रको पाठ गरिएको थियो । चन्द्रमाजस्तो गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी सरस्वतीलाई विद्यार्थीले भारती, सरस्वती, शारदा, हंसवाहिनी, जगन्माता, वागेश्वरी, लगायतका नामले स्तुति गान गर्नुभएको थियो । साथै टीका र प्रसाद समेत वितरण गरिएको थियो ।

 

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha