बिहिबार, फाल्गुन ७, २०८२ | February 19, 2026

मारवाडी सेवा समिति नेपाल ७३ औं वर्षमा, समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान

मारवाडी सेवा समिति नेपाल ७३ औं वर्षमा, समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान

  • Naveen Sanchar

  • आइतवार, माघ १२, २०८२

  • 434
    Views
मारवाडी सेवा समिति नेपाल ७३ औं वर्षमा, समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान

-माधव अधिकारी
काठमाडौँ, १० माघ
मारवाडी सेवा समिति नेपालको ७३ औं स्थापना दिवस एक भव्य समारोहको आयोजना गरी शनिबार मनाइएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथि हिन्दू स्वयं सेवक संघ नेपालका रेवित कुमार हुनुहुन्थ्यो । समारोहमा आफ्नो जीवन कालमा अमूल्य योगदान प्रदान गर्नुभएका प्रतिष्ठित समाजसेवी स्वर्गीय ओम प्रकाश गोयल, स्वर्गीय नागरमल अग्रवाल, स्वर्गीय तोलाराम दुगडलाई मरणोपरान्त सम्मान गरिएको थियो । जेष्ठ महिला मनावती देवी अग्रवाल (चैनवाला), पानादेवी अग्रवाल (मित्तल), गीता देवी शर्मा, सितादेवी लोहिया , गायत्री देवी अग्रवाललाई सम्मानित गरियो । त्यसैगरी जेष्ठ पुरुष मोहन लाल अग्रवाल (चचान) , बजरंगलाल सराफ, परमेश्वरलालअग्रवाल (चचान) , चिरञ्जीविलाल अग्रवाल , धनराज गिडि़या समेत सम्मानित हुनुभएको छ । सो अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा उपस्थित महानुभावलाई स्वागत गर्नु हुँदै अध्यक्ष प्रमोद कुमार अग्रवालले मारवाडी सेवा समिति नेपालले स्थापनाको ७३ औं वर्षसम्म समाज सेवाको क्षेत्रमा उल्लेख्य योगदान पुयाएको बताउँदै संस्थाले राष्ट्रिय विपद्मा नेपाल सरकार, स्थानीय तहसँग हातेमालो गरी राहत, खाना, औषधि आदि सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो । पशुपति गौशाला धर्मशालाबाट गौधनको संरक्षण, तिर्थयात्रीहरुलाई सेवा, निःशुल्क कृत्रिम खुट्टा प्रदान, निःशुल्क डाइलाइसिस सेवा, भोजन,निःशुल्क शव वाहन सेवा प्रदान भइरहेको अध्यक्ष अग्रवालको भनाइ थियो । अध्यक्ष अग्रवालले संस्था संस्थापक, विशिष्ट दाता एवं विभिन्न समयमा संस्थामा विशिष्ट योगदान गर्नु हुने महानुभाव, पूर्व अध्यक्षको योगदानको स्मरण गर्नु हुँदै संस्था र समाजको सर्वोपरी हितका लागि आफू सदैव दत्तचित्तका साथ लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि बागमती प्रदेश सरकारका मुख्यमन्त्री बानियाँले परोपकारको क्षेत्रमा नेपालमा मारवाडी समुदायको उल्लेखनीय योगदान रहेको बताउदै मारवाडी समाजले गरेका सेवा कार्यमा बागमती प्रदेश सरकारको तर्फबाट गर्न सक्ने सहयोग एवं सहकार्यका लागि आफू सदैव तत्पर
रहेको बताउनु भयो । कार्यक्रमका विशिष्ट अतिथि हिन्दू स्वयं सेवक संघ नेपालका रेवित कुमारले मारवाडी सेवा समिति नेपाल र श्री पशपति गौशाला धर्मशालाबाट प्रदान भइरहेको सेवा कार्यहरु अत्यन्त प्रसंशनीय रहेकोले आजको पुस्तालाई यस प्रकारका सेवा कार्यहरुमा लाग्न प्रेरणा प्रदान गर्ने बताउनु भयो ।
सेवा समितिको ७३औं स्थापना दिवशको पूर्व सन्ध्यामा शुक्रबार १६ वर्ष उमेरसम्मका बालबालिकाहरुका अभिभावकहरुका लागि सह प्राध्यापक डा. पवन शर्माबाट हुने ‘डिजिटल युगमा आफ्ना बालबालिकाहरु प्रति सचेत अभिभावकको भूमिका’ विषयक टक शो कार्यक्रम समेत सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन मारवाडी सेवा समिति नेपालका महासचिव धर्मेन्द्र अग्रवालले गर्नु भएको
थियो । कार्यक्रमको अन्त्यमा मारवाडी सेवा समिति नेपालका उपाध्यक्ष पवन कुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha