-नवीनसञ्चार सम्वाददाता
काठमाडौँ, ९ माघ
बल्खुको कुमारीक्लबस्थित ग्रिन लन्स एकेडेमीले विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी भव्यताका साथ वसन्तपञ्चमी पर्व मनाएको छ । सो अवसरमा विद्यालय परिसरमा आयोजित समारोहमा विद्यार्थीले शैक्षिक, प्राज्ञिक, बौद्धिक र नैतिक प्रगतिको कामना गर्दै विधिपूर्वक माता सरस्वतीको पूजा अर्चना गरेका थिए ।

कार्यक्रममा साना बालबालिकालाई अक्षराम्भ समेत गराइएको विद्यालयका प्रिन्सिपल भीष्म पाण्डेले बताउनुभयो । केही विद्यार्थी प्लेग्रुप, नर्सरीदेखि कक्षा ९ सम्म भर्ना समेत भएका छन् । समारोहमा माता सरस्वतीको स्तुति, मन्त्रोच्चारणका साथै टीका, प्रसाद वितरण गरिएको थियो । उपस्थित अभिभावकले विद्यार्थीको शैक्षिक विकासका लागि एकेडेमीले सञ्चालन गर्दै आएका रचनात्मक क्रियाकलापको प्रशंसा गर्नुभएको थियो । शिक्षकले विद्यार्थीलाई शैक्षिक सफलताको अशिर्वाद दिनुभएको थियो ।

विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षकको उत्साहजनक सहभागिता रहेको थियो । सरस्वतीका भजनकीर्तनले विद्यालय प्रांगणमा तरंग ल्याएको थियो । विद्यालयल परिसरलाई ध्वजापताकासहित बेहुलीझैँ सजाइएको थियो । समारोहले ग्रिन लन्स शिक्षामा मात्र अग्रणी नभई संस्कृति संरक्षणका क्षेत्रमा समेत क्रियाशील रहेको सन्देश दिएको एक अभिभावकले बताउनुभयो । विद्या, विकेक , साहित्य, कला, संगीतको विकासको प्रार्थना गर्दै एकेडेमीले हरेक वर्ष सरस्वती पूजालाई उत्सवका रुपमा मनाउँदै आएको छ । गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यालयले शैक्षिक क्षेत्रमा छुट्टै पहिचान कायम गर्न सफल भएको छ ।

