मङ्लबार, पुस २९, २०८२ | January 13, 2026

नेपाल मगर संघ शाखा कतारद्वारा प्रीति आले र अमर रोका मगरको विशेष प्रस्तुती सहित “माघ्या सकराटी” २०२६ भव्य रूपमा मनाइने

नेपाल मगर संघ शाखा कतारद्वारा प्रीति आले र अमर रोका मगरको विशेष प्रस्तुती सहित “माघ्या सकराटी” २०२६ भव्य रूपमा मनाइने

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • मङ्लबार, पुस २९, २०८२

  • 64
    Views
नेपाल मगर संघ शाखा कतारद्वारा प्रीति आले र अमर रोका मगरको विशेष प्रस्तुती सहित “माघ्या सकराटी” २०२६ भव्य रूपमा मनाइने

कतार। नेपाल मगर संघ शाखा कतारको आयोजनामा मगर समुदायको राष्ट्रिय तथा मौलिक सांस्कृतिक पर्व “माघ्या सकराटी” (माघे संक्रान्ति) सन् २०२६ (मिनाम ल्हेस् ५०१९) को अवसरमा भव्य रूपमा मनाइने भएको छ। नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायिका प्रीति आले र लोकप्रिय दोहोरी गायक अमर रोका मगरको विशेष प्रस्तुती रहने यस कार्यक्रमले कतारस्थित नेपाली समुदायमा उत्साह थप्ने अपेक्षा गरिएको छ।

हरेक वर्षझैँ यस वर्ष पनि वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम सहित आयोजना हुन लागेको माघ्या सकराटी कार्यक्रम यसपटक अझ विशेष, व्यवस्थित र आकर्षक हुने नेपाल मगर संघ शाखा कतारले जनाएको छ। कार्यक्रम आगामी शुक्रबार, डिपिएस मोनार्क इन्टरनेशनल स्कुलको सभा हलमा आयोजना गरिनेछ।संघका अध्यक्ष समीर थापा मगरका अनुसार कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकार प्रीति आले र अमर रोका मगरले विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुती दिनेछन्। कार्यक्रमको उद्घोषण पुरन राजकोटी मगरले गर्नेछन्।

माघ्या सकराटी (माघे संक्रान्ति) मगर समुदायको ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण पर्व हो। सूर्य मकर राशिमा प्रवेश गर्ने अवसरमा मनाइने यस पर्वलाई नयाँ ऋतुको आरम्भ, सामाजिक-आध्यात्मिक पुनर्जागरण तथा पितृपूजाको प्रतीकका रूपमा लिइन्छ। यस पर्वले परिवार, समाज र समुदायबीच आपसी सद्भाव, एकता र सहकार्यको भावना विकास गर्ने विश्वास गरिन्छ। पर्वको अवसरमा तरुल, सख्खर, तिल, घ्यू, चाकु, सेलरोटी, भ्याकुर तथा मासुजन्य परिकार खाने प्रचलन छ। परम्परागत मान्यताअनुसार यी परिकारले जाडो मौसममा शरीरलाई शक्ति र तातोपन प्रदान गर्ने विश्वास गरिन्छ।

देश तथा विदेशमा रहे पनि मगर समुदायले आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई जगेर्ना गर्दै माघ्या सकराटीलाई निरन्तरता दिँदै आएको छ। यसले मगर समुदायको इतिहास, सांस्कृतिक धरोहर र सामुदायिक एकतालाई जीवन्त राख्न सहयोग पुर्‍याएको छ। मगर समुदायको मौलिक पहिचान, भाषा, संस्कृति र परम्परा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा अतिथि कलाकारहरूको प्रस्तुतीसँगै नेपाल मगर सांस्कृतिक परिवारमा आबद्ध कलाकारहरू द्वारा मौलिक नृत्य प्रस्तुत गरिनेछ।कार्यक्रममा मगर समुदायका सांस्कृतिक झाँकी, सालै जो, कौराह, सोरठी, झ्याउरे, हुर्रा, भुम्या लगायतका परम्परागत नृत्य तथा मगरहरूको मौलिक भेषभूषाको आकर्षक प्रदर्शन रहने संघले जनाएको छ, जसले कार्यक्रममा थप रौनक ल्याउनेछ।

कार्यक्रममा सहभागी हुन चाहने दर्शकहरुका  लागि कतारका विभिन्न स्थानहरू बाट निःशुल्क यातायात सेवाको व्यवस्था गरिएको कार्यक्रम संयोजक देवी कुमारी मगरले जानकारी दिएकी छन्। उनका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ र ठूलो संख्यामा नेपाली समुदायको सहभागिता रहने अपेक्षा गरिएको छ। यस “माघ्या सकराटी २०२६” कार्यक्रमको सञ्चार प्रवर्द्धनमा नवीन सञ्चार समेत  सञ्चार सहयोगीको रूपमा रहेको छ। कार्यक्रमलाई भव्य र सफल बनाउन कतारमा रहेका सम्पूर्ण नेपाली समुदाय, सामाजिक संघ–संस्था तथा संस्कृति प्रेमीहरू लाई नेपाल मगर संघ शाखा कतारले उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha