माधव अधिकारी
काठमाडौँ । समाजशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयको आयोजनामा नयाँ पुस्ता र नेपालमा समाजशास्त्रको भविष्य विषयक समाजशास्त्रको वार्षिक सम्मेलन त्रिवि केन्द्रीय पुस्तकालयको सभाकक्षमा सम्पन्न भएको छ ।
समारोहलाई सम्बोधन गर्नुहुँदै त्रिवि उपकूलपति प्रा.डा. दीपक अर्यालले नेपालमा समाजशास्त्रको विकास र प्रवद्र्धनमा त्रिविको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । त्रिवि समाजशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख डा. पासाङ्ग शेर्पाले नेपालको समाजशास्त्रीय चिन्तनमा नयाँ पुस्ताको सहभागिता प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा समाजशास्त्रीले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहभागीका जिज्ञासाको जवाफ दिनुभएको थियो ।

सोही अवसरमा विभागद्वारा प्रकाशित नेपाल जर्नल अफ सोसियोलोजीको विमोचन समेत गरिएको थियो । जर्नलबारे पूर्व विभागीय प्रमुख प्रा.डा. गणेशमान गुरुङ्गले प्रकाश पार्नुभएको थियो । समारोहमा त्रिविका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी, विश्वविद्यालय क्याम्पसका प्राचार्य प्रा.डा. अक्कलदेव मिश्र, नेपाल तथा एसियाली अध्ययन केन्द्रका प्रमुख डा. मृगेन्द्र बहादुर कार्की लगायतले बोल्नुभएको थियो । पूर्वविभागीय प्रमुख, प्राध्यापक र विद्यार्थीको उत्साहजनक सहभागिता रहेको कार्यक्रमका सहभागीलाई प्रा.डा. सुरेन्द्र मिश्रले स्वागत गर्नुभएको थियो । समारोहको सञ्चालन डा. टीकाराम गौतमले गर्नुभएको थियो ।
