बुधबार, मंसिर १८, २०८२ | December 3, 2025

दूतावासमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका साउदी शाखाद्वारा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दूतावासमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका साउदी शाखाद्वारा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • देबी बहादुर सुतारकार्की

  • आइतवार, कार्तिक २४, २०८२

  • 114
    Views
दूतावासमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका साउदी शाखाद्वारा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रियाद, साउदी अरब नबिन सन्चार ड्ट कम

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका साउदी शाखाद्वारा साउदी अरबस्थित नेपाली राजदूतावासमा एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा संस्थाका पदाधिकारीहरूको परिचय, महासंघ स्थापनाको उद्देश्य, दूतावाससँगको सहकार्य, र साउदीमा कार्यरत नेपाली श्रमिकका समस्या समाधानमा सहजीकरणका विषयमा विस्तृत छलफल भएको थियो।

उक्त कार्यक्रममा नियोग उप–प्रमुख तथा कार्यवाहक राजदूत सृजना अधिकारी, श्रम काउन्सेलर कविराज उप्रेती, र द्वितीय सचिव दिनेश सिवाकोटीको विशेष उपस्थिती रहेको थियो।

संस्थाका अध्यक्ष बिष्णु घिमिरेले महासंघका गतिविधि र उद्देश्यबारे जानकारी दिँदै साउदीमा रहेका नेपाली श्रमिकहरूले भोगिरहेका समस्या तथा नेपाली समुदाय र संघ–संस्थाबीचको सहकार्य सुदृढ गर्न आवश्यकतामा जोड दिनुभयो।

त्यस्तै, संस्थाका प्रमुख सल्लाहकार अमर सापकोटा, महासचिव राजु खनाल, सञ्चार तथा अनुशासन संयोजक राज चेम्जोङ लिम्बू, प्रवक्ता लोकेन्द्र खड्का, र सदस्य एल.बी. सिर्पाली लगायतका पदाधिकारीहरूले दूतावासको भूमिकाको प्रशंसा गर्दै श्रमिकका गुनासोहरू तत्काल सम्बन्धित निकायसम्म पुर्‍याउने र मिडियाले सहयोगात्मक भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए।

कार्यवाहक राजदूत सृजना अधिकारीले साउदीमा छरिएर रहेका नेपाली मिडियाकर्मीहरूलाई एउटै संस्थागत छातामुनि ल्याएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिनुभयो। उहाँले दूतावास सधैं नेपाली श्रमिकको हकहित र अधिकारका पक्षमा काम गरिरहेको बताउँदै निकट भविष्यमा नेपाल–साउदी श्रम सम्झौता हुने र त्यसले नेपाली श्रमिकहरूलाई केही राहत मिल्ने जानकारी दिनुभयो ।

 

श्रम काउन्सेलर कविराज उप्रेतीले साउदीमा नेपाली श्रमिकहरूको अवस्था जटिल बन्दै गएको बताउँदै, कम्पनीबाट भाग्ने समस्या, सम्झौता विपरीत काम, आत्महत्या, सडक दुर्घटना, भिसा प्रमाणीकरण, र कानुनविपरीत कार्यका सजाय लगायत विषयमा संघ–संस्थाको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

त्यस्तै, द्वितीय सचिव दिनेश सिवाकोटीले दूतावासलाई नेपालीहरूको अभिभावकको रूपमा व्याख्या गर्दै श्रमिकको हितमा सदैव जिम्मेवारीपूर्वक काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, दूतावासले तयार पारेको ‘हाते पुस्तिका’ साउदीमा रहेका सबै नेपाली श्रमिकसम्म पुर्‍याउन संघ र समुदायका नेतृत्वलाई आग्रह गर्नुभयो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha