
लेखक: त्रिविक्रम न्यौपाने
यो वर्ष अमेरिका ओहायोको गेलियन सहरमा आयोजित “विश्व शान्ति महायज्ञ २०८१” मेरो जीवनको स्मृति-दीपमा अमिट ज्योति भएर बलिरहनेछ। शारीरिक रूपमा म त्यो पुण्यभूमिमा उपस्थित हुन सकिनँ।स्वास्थ्यसम्बन्धी केही आकस्मिक कारणले, तर मेरो चेतना, श्रद्धा र अनुभूति भने सम्पूर्ण रूपमा त्यहीं विलीन थियो। फेसबुक लाइभ र सामाजिक सञ्जालमार्फत म हरेक पलसँग सजीव भएर बाँधिइरहेँ।भेष, भाषा र दृश्यभन्दा परको एउटा भव्य आत्मिक समागमसँग। त्यो जुन देखिँदै थियो, त्यो केवल दृश्य थिएन,त्यो एउटा सन्देश थियो, एउटा कथा, जसमा भक्ति थियो, सेवा थियो, र निर्व्याज समर्पणको उज्यालो थियो।
तीस हजारभन्दा बढी भक्तजनहरूको उपस्थितिले एक सानो सहरलाई पवित्र तीर्थस्थलमा रूपान्तरण गरिदिएको त्यो क्षण, मैले भौगोलिक दूरीको सन्दर्भ नै भुलें। टाढाबाट आएको त्यो श्रद्धा–लहर एकतामय ऊर्जा बनिसकेको थियो। महायज्ञको प्रत्येक वाणी केवल प्रवचन थिएन, त्यो अनुभूतिपूरक बोध थियो। त्यो एउटा गहिरो संवाद थियो ।जहाँ गुरुहरूको बोलीमा शास्त्र थिए, अभ्यास थिए, र जीवन भोगाइका लहरहरू समेटिएका थिए।
त्यही प्रवाहको अर्को छेउमा चलिरहेको रक्तदान कार्यक्रम एक गहिरो प्रतीक थियो ; धर्म केवल आरती र मन्त्रोच्चारण होइन, शरीरको एक हिस्सा अरूका लागि अर्पण गर्ने संवेदना पनि हो। त्यो रगत–बिन्दुमा मैले धर्मको स्पन्दन देखेँ, जहाँ कर्म र करुणा सँगसँगै बगेका थिए। उस्तै भावुकता बोकेको थियो शरणार्थी जीवनको जीवित चित्रण ।त्यो सानो झुपडी, माटोको चुलो र बास्ना भरिएको झोलुङ्गो भान्छाघर। मलाई मेरो विगत फर्किएर बोलिरहेको जस्तो लाग्यो। त्यो ‘डिस्प्ले’ थिएन, त्यो हामीले जिउँदै काटेको यथार्थ थियो ,जसले उपस्थितहरूको आँखा रसाइरह्यो, र हामीलाई हाम्रै इतिहाससँग साक्षात्कार गरायो।
त्यसै क्रममा सञ्चालित थियो भुटानी इतिहास र संस्कृतिको गहिरो दस्तावेज बोकेको पुस्तक मेला। ती किताबहरू केवल ज्ञानको सामग्री थिएनन्, ती त हाम्रो लोप हुँदै गएको अस्तित्वको जीवित दस्तावेज थिए। ती पानाहरू पल्टाउने हरेक अनुहारमा मैले चासो मात्र होइन, एउटा खोज देखेँ ।आफ्नै जरा भेट्टाउने प्यास, र आफूलाई बुझ्ने प्रयास।
यसैबीच, पर्सादीको तयारीमा समर्पित स्वयंसेवकहरूको अनुहारमा देखिएको श्रम र मुस्कान अद्वितीय थियो। थकाइ थिएन, चिसो छैन, गुनासो थिएन ।त्यो त न्यानो छालाजस्तो श्रद्धा थियो, जसले खानालाई प्रसाद बनाउँथ्यो, र सेवालाई साधना। प्रत्येक भाँडो, प्रत्येक चम्चा, प्रत्येक हातमा कर्मको ज्वाला बलिरहेको थियो।
र अन्त्यमा, त्यो प्रवचन जहाँ शब्दहरू केवल ध्वनि थिएनन्, उनीहरू आत्माका कम्पन बनेर बगिरहेका थिए। गुरुजनहरूको अमृतवाणी मेरो फोनको पर्दाबाट निस्किएर सिधा मेरो हृदयमा प्रवेश गर्दै थियो। ती शब्दहरूले मेरो भीत्रको अशंका मेटाइरहेका थिए, मेरो आत्मालाई सफा गरिरहेका थिए। त्यो वाणीको स्पर्शले मलाई अनुभूत गरायो । भक्ति केवल सुनिने होइन, महसुस गरिने कुरा हो।
म उपस्थित थिइनँ, तर म थिएँ। म त्यहाँको हावामा थिएँ, बास्नामा थिएँ, भावना र समर्पणमा थिएँ। आज यो लेखमार्फत म हृदयको गहिराइबाट आभार प्रकट गर्न चाहन्छु—GBHO परिवारलाई, ॐ सेन्टर दिव्यधामलाई, आदरणीय कमल धिमाल सर र उहाँको निस्वार्थ समर्पित टोलिलाई, गुरुजनहरूलाई, स्वयंसेवकहरूलाई र हरेक सहभागी श्रद्धालुहरूलाई—जसले “विश्व शान्ति महायज्ञ २०८१” लाई केवल कार्यक्रम होइन, एउटा ऐतिहासिक चेतनाको पर्व बनाए।
अहिले पनि मेरो स्मृतिमा गुञ्जिरहेछ; सेवामा लीन स्वयंसेवकहरू, आँखामा विगत बोकेर उभिएका शरणार्थी अनुहारहरू, किताबहरू पल्टाउँदै इतिहासको गहिराइमा डुबेका युवाहरू, अनि प्रवचनको वाणीमा आत्मिक यात्रा गरिरहेका भक्तजनहरू। म नहुँदा पनि म त्यहाँ थिएँ—रगतको थोपा जस्तै, चुल्होको आगो जस्तै, वाणीको छाया जस्तै। मेरो आत्मा उपस्थित भएर त्यहीँ रोएको थियो, त्यहीँ हाँसेको थियो, र सम्पूर्ण श्रद्धा लिएर समर्पण भएको थियो।