शनिबार, माघ १८, २०८२ | January 31, 2026

पराक्रम बालप्रतिभा पुरस्कारबाट मिनुमायाँ प्रजा पुरस्कृत

पराक्रम बालप्रतिभा पुरस्कारबाट मिनुमायाँ प्रजा पुरस्कृत

  • Naveen Sanchar

  • सोमवार, बैशाख ३, २०८१

  • 262
    Views
पराक्रम बालप्रतिभा पुरस्कारबाट मिनुमायाँ प्रजा पुरस्कृत

१ वैशाख, काभ्रे

साहित्यसेवी रमा अधिकारी तथा महेश पौड्यालले आफ्ना दिवङ्गत छोरा पराक्रम पौड्यालको स्मृतिमा स्थापित ‘पराक्रम बालप्रतिभा पुरस्कार’ २०८० चितवनकी चेपाङ बालिका मिनुमाया प्रजालाई प्रदान गरिएको छ । शनिबार प्रजा आश्रित रहेको कुमार–बलराम स्मृति छात्रावास, चौँरी–देउराली काभ्रेमा एक विशेष समारोहबीच उक्त पुरस्कार अर्पण गरिएको हो । पुरस्कारमा १५ हजार नगद राशि र सम्मानपत्र रहेको छ । उक्त छात्रावासलाई सञ्चालय गरिरहेको लक्ष्मी प्रतिष्ठानका उपाध्यक्ष, कवि तथा शिक्षासेवी बटु न्यौपानेले कार्यक्रमको अध्यक्षता गरेका थिए भने पर्वतीय साहित्य समाज नेपालका अध्यक्ष तथा प्रसिद्ध नियात्राकार प्रतीक ढकाल कार्यक्रमका प्रमुख अतिथि थिए । पुरस्कार विजेता प्रजालाई प्रतिकूल आर्थिक–सामाजिक अवस्थामाथि सहज विजय प्राप्त गरी पढाइलेखाइका साथै सङ्गीतमा पनि विलक्षण प्रतिभा प्रर्दशन गर्दै आएका कारण पुरस्कृत गरिएको प्रतिभा छनोट समितिकी सदस्य–सचिव, साहित्यकार भवानी खतिवडाले बताइन् । प्रमुख अतिथि प्रतीक ढकालले नेपाली प्रतिभाहरूले नेपलका विशेषताहरू चिन्नुपर्ने तथा नेपालमै भविष्य खोज्नुपर्ने बताए । सभाध्यक्ष बटु न्यौपानेले लक्ष्मी प्रतिष्ठानले चितवन र काभ्रेमा अवस्थित आफ्ना दुई छात्रावासमा आश्रित २०० भन्दा बढी चेपाङ र अन्य समुदायका विद्यार्थीहरूले निःशुल्क भोजन, आवास र आश्रय पाइरहको बताए । यस्ता विद्यार्थीहरूले छात्रावसमै पढाइलेखाइका अतिरिक्त गायन कला, नृत्य कला, चित्राङ्कन, कृषिबाली, बिजुली जडान, भवन–निर्माण, पाककला आदि अनेक जीवनोपयोगी सीपहरू पनि सिकिरहेको बताए । कार्यक्रममा पुरस्कृत प्रतिभा मिनुमायाले गीत प्रस्तुत गरेकी थिइन् । साहित्यकार तथा गायिका हरिमाया अधिकारीले पनि आफ्ना सुमधुन गीति रचना पस्केकी थिइन् । कार्यक्रमा उपस्थित साहित्यकारहरू डा. अशोक थापा र महेश कार्की क्षितिजले पुरस्कृत प्रतिभा मिनुमाया प्रजालाई बधाई तथा शुभाकामना दिएका थिए । यस पुरस्कारलाई पर्वतीय साहित्य समाज नेपालले व्यवस्थापन गर्दै आएको छ । यसअघि ५ जना प्रतिभा पुरस्कृत भइरहेका छन्, जसमा नाकले लेख्ने विशेष क्षमताका कवि दर्शन केसी शङ्कु, काभ्रेकी प्रतिभाशाली वक्त तारा तामाङ, चेपाङ समुदायका किशोर गायक प्रेम चेपाङ, दृष्टिविहीन बालिका एलिशा फुयाल तथा दृष्टिविहीन गोयक योगेश राई सामेल छन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha