
देवी बहादुर कार्की, साउदी अरब
गत ९ फेब्रुअरी देखि २९ फेब्रुअरी सम्म संचालित वाफ महिला च्याम्पियनसिप २०२४ का उप- बिजेता नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी लाई उहाँहरुको खेल को उच्च सम्मान तथा प्रोत्साहनका लागि साउदीमा रहेका एनआरएनए लगायत अन्य संघ संस्थाहरुले आर्थिक सहयोग गरेका छन् ।
उक्त वाफ महिला च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुँदै नेपाली राष्ट्रिय महिला फुटबल टिमले प्रीमियमका तीन खेलमा र सेमिफाइनल खेलमा लगातार जित हासिल गर्दै २९ फेब्रुअरी बिहिवार बेलुकी फाइनल खेल खेलेको थियो ।
फाइनल खेलमा नेपाली टिमले निकै प्रतिस्पर्धात्मक रुपमा खेलेर २-२ गोल बनाउन सफल भएपनि पेनाल्टी सुटमा मिस गरि वाफ महिला च्याम्पियनसिप २०२४ को उपाधी जित्न नसकी उप बिजेता बन्न पुगेको खेलाडी टिमहरुको सम्मानका साथै हौसला र मनोबल बढाउने उद्देश्यले यो आर्थिक सहयोग गरिएको अभियानका संयोजक एनआरएनए साउदीका उपाध्यक्ष राज कुमार गिरी ले बताउनु भयो ।
एनआरएनए आरसिसि जेद्दाको समन्वयमा एनआरएनए साउदी तथा एनआरएनए आरसिसि जेद्दा बाट ४,५२८ साउदी रियल (करिब ने.रु. १,५९,०००), नेपाल आदिवासी जनजाति महासंघ जेद्दा बाट १,०५० साउदी रियल (करिब ने.रु. ३७,०००), तमु धीँ जेद्दा बाट ५६८ साउदी रियल (करिब ने.रु. २०,०००), हातेमालो युवा क्लब जेद्दा बाट ५७५ साउदी रियल (करिब ने.रु. २०,२००) गरि उठेको जम्मा रकम ६,७२१ साउदी रियल खेलाडीहरुलाइ गत १ मार्च शुक्रबारका दिन एअरपोर्टमा बिदाइ गर्ने क्रममा नेपाली महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुध्वन पोखरेल तथा अन्य संघ संस्थाका प्रतिनिधि एवं सामाजिक समाजसेवी ब्याक्तित्व हरुको रहोवरमा हस्तान्तरण गरिएको थियो ।
यसैगरी खेलाडीहरुको प्रोत्साहन तथा सम्मानका लागि सुदुर पश्चिमेली नेपाली समाज साउदी अरबले ने.रु.१ लाख, नेपाली युवा क्लब जेद्दाले ने.रु. १ लाख र साउदी अरबको रियाद स्थित लालिगुँरास नेपाली रेस्टुरेन्टका संचालक यम तमु एक्लैले ने.रु.१० लाख नगद सहयोग गरेका थिए।
बिदेशमा रहेर पनि खेल मैदानमा होस् या स्वागत तथा खेलाडीहरुको बिदाईमा होस् यसरी नेपालीहरुले गरेको साथ सहयोग तथा सम्मान लाई नेपाली राष्ट्रिय महिला खेलाडी टिमले खुशी व्यक्त गर्नुको साथै सबैमा आभार व्यक्त गरेका थिए ।