शनिबार, चैत्र १, २०८१ | March 15, 2025

निर्मल बाटिकामा बाल साहित्य मेला

निर्मल बाटिकामा बाल साहित्य मेला

  • Naveen Sanchar

  • मङ्लबार, मंसिर १९, २०८०

  • 84
    Views
निर्मल बाटिकामा बाल साहित्य मेला

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ, १९ मङ्सिरः साहित्य र स्रष्टासँगको कुराकानी तथा विद्यार्थीद्वारा तयार पारिएका विभिन्न पुस्तक प्रदर्शनी र सिर्जनाको प्रस्तुतीकरण गर्दै निर्मल बाटिका एकेडेमी, टोखा– ११, काठमाडाँैले बाल साहित्य मेला २०८० सम्पन्न गरेको छ । महोत्सवको केन्द्रविन्दु बालबालिकाका सिर्जना र प्रस्तुति थिए, जसले दर्शक –स्रोतालाई चकित पारेका थिए । तिनले दर्जनौँ छन्दका कविता वाचन, जीवनमा परिवर्तन ल्याउने जीवन्त कथा र नाटक प्रस्तुति दिएका थिए ।


प्रदर्शनका बिचमा प्राज्ञ अमर न्यौपाने र कवि सुदेश सत्यालले विद्यार्थीसँग अन्तरक्रियात्मक सत्र र कार्यशाला सञ्चालन गर्नुभएको थियो जसको समन्वय शिक्षिका सुस्मिता सापकोटाले तथा मेला सञ्चालन शिक्षकद्वय भूपेन्द्र खड्का र शान्ता देवकोटाले गर्नुभएको थियो ।
ती सत्रको उद्देश्य पठनप्रतिको प्रेमलाई प्रेरित गर्ने, रचनात्मक अभिव्यक्तिलाई बढावा दिने र युवा दिमागलाई साहित्य संसारमा संलग्न गराउने थियो । सिर्जनात्मकता र कल्पनाशक्तिको व्याख्यासहित कविता र कथा सुनाउने सत्र, छलफल र अन्तरक्रियात्मक गतिविधिमा बालबालिका उत्साहका साथ सहभागी थिए ।प्राज्ञ न्यौपाने र कवि सत्यालले युवा दिमागलाई आकार दिन र सिक्नका लागि जीवनभर अध्ययनप्रति प्रेम बढाउन साहित्यका महत्त्वमा जोड दिनुभएको थियो ।


महोत्सवमा विद्यार्थीद्वारा रचित विभिन्न विधाका पुस्तक र विविध सङ्ग्रह प्रदर्शन गरिएको थियो । गत बडादशैँ र तिहारका बिचमा विद्यालयले लेखन कार्यशाला सञ्चालन गरी ती पुस्तक लेखाएको थियो । विद्यालयका प्रिन्सिपल शिव थापाको सभापतित्वमा सञ्चालित मेलामा हरेक विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा सम्मान व्यवस्था गरिएको थियो । शनिबार आयोजित मेलामा टोखा नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतमलगायतको सहभागिता थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha