शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

छमछमी नृत्य गर्दै सबैलाई नचाए बानेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले

छमछमी नृत्य गर्दै सबैलाई नचाए बानेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले

  • Naveen Sanchar

  • बुधबार, अशोज २४, २०८०

  • 786
    Views
छमछमी नृत्य गर्दै सबैलाई नचाए बानेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले नृत्य गर्दै सबैलाई नचाएका छन् । क्याम्पसद्वारा विजया दशमी लगायतका चाडपर्वको पूर्वसन्ध्यामा आयोजित नृत्य प्रतियोगितामा विद्यार्थीले बुधबार मनमोहक नृत्यकला प्रस्तुत गरेका हुन् ।


नेपालका परम्परागत भेषभूषामा सजिएका क्याम्पसका विभिन्न संकायका विद्यार्थीले मौलिक सांस्कृतिक गीतमा नाचेको देखेर तालीले क्याम्पस परिसर नै गुञ्जायमान भएको थियो । ‘आज बाह्र हाते पटुकीको’ , ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म त गाउँकी गारी रे हो’, ‘घिन्ताङ घिन्ताङ मादल ‘ लगायतका श्रृङ्गार रसका गीतमा विद्यार्थीको नृत्य दर्शनीय थियो ।

 

रातो सारी, चोलो र दौरा सुरुवालमा विद्यार्थीले ‘आँखैमा राख्छु मेरो देश’, ‘मलाई नेपालकै माया चाहिन्छ’ लगायतका गीतमा नृत्य गर्दा सबैको हृदयमा राष्ट्रभक्तिको भावना उर्लिएको थियो ।समारोहलाई सम्बोधन गर्नुहुँदै क्याम्पस प्रमुख प्रा.डा.  घमानसिंह खड्काले विद्यार्थीको चौतर्फी विकासका लागि पाठ्यक्रमसँगैअतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

प्रतियोगितामा तुलसा खड्का प्रथम


नृत्य प्रतियोगिताको प्रथम पुरस्कार बीए दोश्रो वर्षकी छात्रा तुलसा खड्काले हासिल गरेकी छन् । त्यस्तै बीए चौथो वर्षकी रस्मिता गिरी दोश्रो, बीएड् तेस्रो वर्षकी सुरक्षा गोदार तेस्रो भएका छन् । सान्त्वना पुरस्कार कक्षा १२ की प्राश्ना बस्नेतले हात पारेकी छन् । विजयी प्रतियोगीलाई नगद पुरस्कार, प्रमाणपत्र प्रदान गरिएको छ ।

प्राध्यापकको नृत्यमा विद्यार्थीको “वान्स मोर”


समारोहमा क्याम्पस प्रमुख प्रा.डा.  खड्कासहित क्याम्पसका प्राध्यापकको सामूहिक नृत्यले सबैको ध्यान आकर्षित गरेको थियो । “सालको पात टपरी हुनी…हे बरै” बोलको गीतमा आफ्नै प्राध्यापकको नृत्य देखेर दंग परेका विद्यार्थीले ताली मात्र बजाएनन् “वान्स मोर”को आवाज समेत उठाएका थिए । ‘नृत्यले त्यहाँ पु-याउँछ जहाँ शब्द पुग्न असमर्थ हुन्छ’ भन्ने भनाई चरितार्थ भएको थियो ।


समारोहमा कार्यक्रम संयोजक रामेश्वर काफ्ले, अर्जुन आचार्य, डा. विष्णु प्रसाद राई, डा. रमेश शुभेच्छु, डा. कृष्णदेव यादव, डा. लेखनाथ यादव, डा. मधुसुदन लामिछाने, लीला भट्टराई, सुरक्षा ढुंगेल, भोलानाथ चालिसे, चिरञ्जिवी तिमल्सिना, नेत्र प्रसाद न्यौपाने, बाबुराम बञ्जाडे, भावकेशर बराल, परशुराम भट्टराई, सुधीर रिमाल, बालकृष्ण पोखरेल, दीपकबाबु निरौला, हर्कराज ढुंगेल, सागरराज पन्त, निराजन रावल, सुरक्षा ढुंगेल, जितेन्द्र झा, रमिता सुबेदी, सुनिता नेपाल, शैलजा न्यौपाने, पुनिता यादव, लावण्यदेवी घिमिरे,सिर्जना तिमल्सिना, इन्दिरा खड्का, कल्पना अधिकारी थापा लगायतका प्राध्यापकको सहभागिता रहेको थियो ।त्यसैगरी प्रशासन प्रमुख तीर्थ अम्गाईँ, पुस्तकालय अधिकृत नवराज केसी, विन्दा खतिवडा, रेखा खड्का लगायतका कर्मचारीको समेत उपस्थिति रहेको थियो ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha