बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

नागार्जुनमा पाठेघरको मुखको क्यान्सर गराउने एचपीभीविरुद्धको खोप लगाइने

नागार्जुनमा पाठेघरको मुखको क्यान्सर गराउने एचपीभीविरुद्धको खोप लगाइने

  • Naveen Sanchar

  • शुक्रबार, अशोज ५, २०८०

  • 273
    Views
नागार्जुनमा पाठेघरको मुखको क्यान्सर गराउने एचपीभीविरुद्धको खोप लगाइने

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नागार्जुन नगरपालिकामा किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाइने भएको छ । हाललाई सामुदायिक विद्यालयमा अध्ययनरत १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका(२०६५ भाद्र ३० देखि २०६६ भाद्र ३० भित्र जन्म भएका) किशोरीलाई मात्र खोप लगाइने नगरपालिकाले जनाएको छ । आगामी असोज ८ गते सोमबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म रामकोट प्राथमिक स्वास्थ्य केन्द्र, नागार्जुन ६ र स्युचाटार स्वास्थ्य चौकी, नागार्जुन १० मा खोप दिइने छ ।  तोकिएका उमेरसमूहका विद्यार्थीले सामुदायिक विद्यालयको उमेर खुल्ने आधिकारिक विद्यार्थी परिचयपत्र वा विद्यालयद्वारा जारी फोटोसहितको सिफारिस पत्रसहित पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन नगरपालिकाले सूचित गरेको छ । भविष्यमा अन्य उमेरसमूहका छात्रालाई पनि क्रमशः खोप दिइने नगरप्रमुख मोहन बहादुर बस्नेतले बताउनुभयो ।

के हो एचपीभी खोप ?


पाठेघरको मुखको क्यान्सर(सर्भाइकल क्यान्सर) को मुख्य कारण ह्युमन प्यापीलोमा भाइरस(एचपीभी)लाई मानिएको छ। पुरुष र महिला दुवै एचपीभी भाइरसबाट संक्रमित हुन सक्छन्। यो भाइरस छालादेखि छालाको सम्पर्कबाट विशेषगरी यौन क्रियाकलापको समयमा सर्ने गर्दछ। यो भाइरसका एक सयभन्दा बढी प्रकार छन्। जसमध्ये एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशत भन्दा बढी क्यान्सर गराउँछ। बढ्दो क्रममा रहेको पाठेघरको मुखको क्यान्सरलाई नियन्त्रण गर्ने सबैभन्दा महत्वपूर्ण उपाय एचपीभी खोप रहेको छ । विश्वका कतिपय देशमा  नियमित खोप सेवामा एचपीभी विरुद्धको खोपलाई समावेश गरिएको छ ।नेपालमा किशोरीका लागि एचपीभीविरुद्धको खोप उपलब्ध गराइँदै छ। एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशतभन्दा बढी क्यान्सर गराउँने हुँदा बालिकाको सक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै अर्थात ९ देखी १४ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु उत्तम हुन्छ ।
पाठेघरको मुखको क्यान्सरबाट जोगाउने पहिलो तरिका (प्राइमरी प्रिभेन्सन) भनेको एचपीभी विरुद्धको खोप , दोस्रो तरिका (सेकेन्डरी प्रिभेन्सन) भनेको क्यान्सर लाग्नुभन्दा पहिले नै महिलाको उमेर ३० देखि ६० वर्षसम्म हुँदा प्रत्येक पाँच वर्षमा एक पटक नियमित जाँच र उपचार गर्नु र तेस्रो तरिका रोगको निरुपण र उपचार गर्नु हो ।

हेर्नुहोस् नागार्जुन नगरपालिकाद्वारा जारी सूचना


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha