आइतवार, चैत्र २, २०८१ | March 16, 2025

स्वास्थ्य र पोषणका बारेमा गीतका माध्यमबाट जनचेतना

स्वास्थ्य र पोषणका बारेमा गीतका माध्यमबाट जनचेतना

  • Naveen Sanchar

  • शुक्रबार, भदौ २९, २०८०

  • 71
    Views
स्वास्थ्य र पोषणका बारेमा गीतका माध्यमबाट जनचेतना

ललितपुर ।  खानुपर्छ स्वस्थकर खाना
यति कुरा बुझ्दिनुस सबजना
स्वस्थ जीवन नफाल खेर
धन भनेको स्वास्थ्य नै हो हेर ।
देवीचौरमा यो गीत घन्कँदा वडाध्यक्ष र वडा सदस्य निकै उत्साही देखिन्थे । ग्रामीण सामुदायिक संस्था विकास रिकोडले देवीचौर स्वास्थ्यचौकी सँगको सहकार्यमा आयोजना गरेको जनजचेतनामूलक कार्यक्रममा मादलको तालमा घन्किएको गीत हो यो ।
गर्भ जाँच, संस्थागत सुत्केरी, सुत्केरी जाँच र वर्द्धि अनुगमनका विषयलाई पोषणसँग जोडेर जनचेतना अभिवर्द्धि गर्ने उद्धेश्यले आयोजित जनचेतनामूलक कार्यक्रममा देवीचौरका नौ जना स्वयम्सेविका, आमा समूहका प्रतिनिधि, वडा कार्यालय र स्वास्थ्य संस्थाका प्रतिनिधिलगायत स्थानीय महिलाको उपस्थितिमा मादलको तालमा जनचेतनामूलक गीत घन्कँदा २-३ घण्टा बुरुञ्चुली जूरुक्कै उठेको थियो ।

अस्पतालमा सुत्केरी गराउँ
मातृ शिशु मृत्युदर घटाउँ
६ महिनामा आमाको दुध मात्रै
त्यसपछि थप खाना प्रशस्तै ।
यस्ता गीतका टुक्कामा मादलको ताल मिलाउँदा स्वयम्सेविका र आमा समूहका प्रतिनिधि छमछमी नाचेका थिए ।
यी गीतका टुक्का मात्रै होइनन् । सन्देश हुन् ।ु(वडाध्यक्ष मथुरा प्रसाद शर्माले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने । उनले स्वास्थ्यलाई सुधार्न र पोषणको महत्व बुझाउन रिकोडले विभिन्न माध्यम र कार्यक्रमबाट देवीचौरबासीलाई सचेत गराउँदै आएको बताए ।
हराभरा करेसाबारी
खानुपर्छ हरियो तरकारी
भनेका छौँ हामीले सदाबहार
हाम्रो खाना हरेक बार खाना चार ।
रिकोडकी देवीचौर समुदाय सहजकर्ता गीता तिमल्सिनाले शक्ति दिने, सुरक्षा गर्ने, वृद्धि गर्ने र विकास गर्ने खानेकुरा हरेक दिन खानुपर्ने विषयमा हरेक कार्यक्रममा जानकारी दिने गरेको बताइन् । उनले भनिन्(ुसमूहको बैठक होस् वा सार्वजनिक कार्यक्रम होस् पोषण र स्वास्थ्यका विषयमा अनिवार्य छलफल चलाउने गरेका छौँ ।ु
खानुपर्छ गर्भिणी आमाले
स्वस्थ बच्चा पोषिलो खानाले
बच्चा सधैँ जोखेर नापौँ है
यसको महत्व सबैले थाहा पाउँ है ।
स्वास्थ्यचौकीका इञ्चार्ज हस्तबहादुर कठायतले घरघरमा गएर बुझाउनुभन्दा गीतका माध्यमबाट बुझाउन निकै सजिलो हुने बताए । उनले यहाँका महिला घाँसपात गर्दा गीत गगुनगुनाउने र गीत सुन्दा टपक्कै टिप्ने गरेको हुँदा पनि गीतका माध्यमबाट प्रशारित सन्देश ओजिलो हुने बताए ।

१ सय जनाको सहभागितामा सञ्चालित कार्यक्रममा भिमसेन आदर्श माविका शिक्षक तथा विद्यार्थीसमेत सहभागी भएका थिए ।

रिकोडले देवीचौरमा सन् २०२२ को अप्रिलदेखि खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना लागु गरेको छ । सो परियोजनमार्फत महिला शसक्तिकरण र पोषण सुधारका क्षेत्रमा आफ्ना क्रियाकलाप सञ्चालन गर्दै आएको रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले जानकारी दिइन् ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha