
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । बानेश्वर बहुमुखी क्याम्पसमा सञ्चालित तीनदिने पाँचौ प्रोजेक्ट मिट सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत आयोजित छात्रतर्फको शटपुट प्रतियोगितामा तपेन्द्र रावल प्रथम, लल्ता थारु द्वितीय, शशीराम विके तृतीय र शुभदेव खरेल चतुर्थ भएका छन् । टेबल टेनिस प्रतियोगितामा छात्रातर्फ रेखा बिक पहिलो, पूजा ठाकुर दोश्रो, मनिषा नेपाली तेश्रो र सुनिधि गिरी चौथो भएका छन् ।
क्याम्पसको बीएड् तेस्रो वर्ष स्वास्थ्य तथा शारीरिक शिक्षा समूहका विद्यार्थीद्वारा आयोजित एक समारोहबीच विजयी प्रतियोगीलाई पुरस्कार वितरण गरिएको छ । समापन समारोहलाई सम्बोधन गर्दै निमित्त क्याम्पस प्रमुख राजेन्द्र प्रसाद दाहालले सभ्य र भव्य रुपमा कार्यक्रम सम्पन्न गरेकोमा विद्यार्थीलाई धन्यवाद दिँदै भविष्यमा हरेक कार्य गर्दा यस्तै सफलता हासिल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम संयोजक सहप्राध्यापक रामेश्वर काफ्लले विद्यार्थी केन्द्रित शिक्षण पद्धतिमा छात्रछात्राले गरेको निर्णयमा व्यवस्थापन र प्राध्यापकले समस्या पर्दा सहयोग गर्ने उल्लेख गर्दै पुरस्कृत विद्यार्थीलाई बधाई तथा सहभागी सबैमा आभार व्यक्त गर्नुभयो । शिक्षाशास्त्र विभागीय प्रमुख परशुराम भट्टराईले कार्यक्रमबाट खेलकुद प्रतियोगिता आयोजना गर्न विद्यार्थी सक्षम भएको भन्दै उत्कृष्ट प्रतिवेदन लेखनका लागि शुभकामना दिनुभयो ।
समारोहमा व्यवस्थापन विभागीय प्रमुख अर्जुन आचार्य, प्राध्यापक कृष्णदेव यादव, हर्कराज ढुङ्गेल, दीपकबाबु निरौला, लेखनाथ निरौला,डा. मधुसुदन लामिछाने , प्रशासन प्रमुख तीर्थराज अम्गाईँ तथा विद्यार्थीको उपस्थिति रहेको थियो । समारोहमा विद्यार्थीले नृत्य, कविता र गीत समेत प्रस्तुत गरेका थिए । विद्यार्थी सीता पाण्डेको सभापतित्वमा सम्पन्न समारोहमा भावना जोशीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन स्वस्तिका उपाध्यायले गर्नुभएको थियो ।