
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । छ वर्षअघि साउदी अरब गई कम्पनीले गैरकानूनी रुपमा काम लगाई नेपाल जान नदिएको अवस्थामा रहनुभएका पर्साका फर्मुल्लहा मियाँ धुनिया स्वदेश फर्किनुभएको छ । नेपाली राजदूतावास रियादका अलकासिम प्रतिनिधि तथा एनआरएनए आईसीसी सदस्य विशाल कुमार श्रेष्ठ र एनआरएनए आरसीसी अलकासिम अध्यक्ष कृष्ण अधिकारीको सहयोगमा विदेशमा अलपत्र मियाँ आफ्नै देश फिर्ता हुनुभएको हो । मियाँ सन् २०१७ मा साउदी अरबको एक कृषि फर्ममा काम गर्न जानुभएको थियो । नेपाली राजदूतावास रियादबाट बहिर्गमन भिसाको सिफारिस पत्र लिएर अलकासिम प्रतिनिधि तथा एनआरएनए आईसीसी सदस्य श्रेष्ठको सम्पर्कमा आएपछि बुरैदास्थित श्रमिक अदालतमा १८ अगस्तमा भिसाको लागि उहाँले आवेदन दिनुभएको थियो । नौ दिनको प्रयासपछि २७ अगस्तमा बहिर्गमन भिसा प्राप्त गरी नेपाल जाने बाटो खुलेको थियो । त्यसको केही दिनपछिउहाँ ५ सेप्टेम्बरको उडानबाट नेपाल पुग्नु भएको गैर आवासीय नेपाली संघ , क्षेत्रीय समन्वय समिति, अलकासिमका सचिव सिद्धिलाल श्रेष्ठले बताउनुभयो ।