नवीनसञ्चार सम्वाददाता
क्यानडा, २८ असोज । नेपाली क्यानेडियन एसोसिएसन अफ क्यालगरी (एनसीएसी)ले क्यानडाको अल्बर्टा प्रान्तमा अल्बर्टा सरकारसमक्ष औपचारिक रूपमा दर्ता भई अल्बर्टाको ‘सोसाइटिज एक्ट’ अन्तर्गत गैरनाफामूलक सामुदायिक संस्थाका रूपमा कानूनी मान्यता प्राप्त गरेको छ।
यस महत्त्वपूर्ण उपलब्धिले नेपाली भाषा, कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्द्धन, सामुदायिक एकता, समावेशिता, स्वयंसेवा र आपसी सहकार्यप्रतिको साझा प्रतिबद्धतामा नयाँ अध्यायको सुरुवात गरेको संस्थाका अध्यक्ष सन्तोष दाहालले बताउनुभयो ।
संस्थाले आगामी दिनमा सुशासन, पारदर्शिता, जवाफदेहिता, इमानदारी, आपसी सम्मान र सामूहिक उत्तरदायित्वका सिद्धान्तहरूलाई आत्मसात् गर्दै एक विश्वसनीय, समावेशी र दिगो सामुदायिक संस्थाका रूपमा अघि बढ्ने प्रतिबद्धता अध्यक्ष दाहालले व्यक्त गर्नुभयो।
सो उपलब्धिलाई सम्भव बनाउन योगदान पुर्याउनुहुने सम्पूर्ण संस्थापक सदस्य, स्वयंसेवक तथा शुभेच्छुकप्रति उहाँले हार्दिक आभार व्यक्त गर्नुभयो ।