शनिबार, अशोज २४, २०८३ | October 10, 2026

नेपाली मूलका विदेशी नागरिकमाथि हवाई भाडामा हुने विभेद अन्त्य गरियोस्

नेपाली मूलका विदेशी नागरिकमाथि हवाई भाडामा हुने विभेद अन्त्य गरियोस्

  • Naveen Sanchar

  • शुक्रबार, अशोज २३, २०८३

  • 12
    Views
नेपाली मूलका विदेशी नागरिकमाथि हवाई भाडामा हुने विभेद अन्त्य गरियोस्

सन्तोष दाहाल
नेपालको पूर्व मानार्थ पर्यटन प्रवर्द्धक (क्यानडा)
वरिष्ठ उपाध्यक्ष
गैरआवासीय नेपाली संघ, क्यानडा
तथा,
एनआरएन अभियन्ता, उत्तर अमेरिका

नेपालमा आन्तरिक हवाई सेवाको न्यूनतमदेखि अधिकतम भाडादर निर्धारण तथा टिकट बिक्री प्रणालीमा पारदर्शिता ल्याउन नेपाल सरकारले चालेको पहल स्वागतयोग्य छ।
यसै सन्दर्भमा, नेपाली मूलका विदेशी नागरिक तथा गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिहरूलाई अन्य विदेशी नागरिकसरह महँगो हवाई भाडा तिर्नुपर्ने व्यवस्थाको पुनरावलोकन गरी नेपाली नागरिकसरह समान भाडादर लागू गर्न सम्माननीय प्रधानमन्त्रीज्यू तथा सम्बन्धित मन्त्रालयसमक्ष हार्दिक तर जोडदार अनुरोध गर्दछु।
विश्वका धेरै मुलुकमा आन्तरिक हवाई यात्राका लागि नागरिकता वा राष्ट्रियताका आधारमा फरक भाडादर लागू गरिँदैन। तर नेपालमा नेपाली र विदेशी नागरिकका लागि फरक हवाई भाडादर कायम हुँदा नेपाली मूलका विदेशी नागरिकहरू समेत प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएका छन्।
विशेषगरी विदेशमा जन्मिएका नेपाली मूलका बालबालिका, गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिहरू तथा विदेशको नागरिकता लिएका नेपाली वंशजहरूले आफ्नै पुर्खाको भूमिमा भ्रमण गर्दा अन्य विदेशी नागरिकसरह अतिरिक्त हवाई भाडा तिर्नुपर्ने अवस्था न्यायोचित देखिँदैन।
यो माग आजको मात्र होइन। गैरआवासीय नेपाली संघ तथा विश्वभरका नेपाली डायस्पोराले विगतका सरकारहरूसमक्ष समेत पटक–पटक उठाउँदै आएको विषय हो। व्यक्तिगत रूपमा समेत यस्तो अनुभव भएकाले यस समस्याको व्यावहारिक समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु।
नेपाली डायस्पोराको सम्बन्ध मातृभूमिसँग केवल भावनात्मक मात्र होइन, जिम्मेवारी, योगदान र निरन्तर सहकार्यसँग पनि जोडिएको छ।
मातृभूमिमा दुःख पर्दा, प्राकृतिक विपद् आउँदा, आर्थिक संकट उत्पन्न हुँदा वा अन्य कठिन परिस्थितिमा विश्वभरका नेपाली डायस्पोरा हिजो पनि नेपालको साथमा थिए, आज पनि छन् र भोलि पनि रहनेछन्। आर्थिक सहयोग, विपद् राहत, लगानी, पर्यटन प्रवर्द्धन तथा नेपालको समृद्धि र आर्थिक विकासमा प्रवासी नेपाली समुदायले निरन्तर योगदान पुर्‍याउँदै आएको छ।
मातृभूमिको सुखमा खुसी हुने र दुःखमा साथ दिने नेपाली मूलका नागरिकहरूलाई आफ्नै पुर्खाको भूमिमा भ्रमण गर्दा अन्य विदेशी नागरिकसरह अतिरिक्त आर्थिक भार पर्नु हुँदैन भन्ने हाम्रो स्पष्ट धारणा हो।
त्यसैले आन्तरिक हवाई भाडादरसम्बन्धी नीतिमा आवश्यक सुधार गरी कम्तीमा नेपाली मूलका विदेशी नागरिक, गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति तथा विदेशमा जन्मिएका नेपाली वंशजका सन्तानलाई नेपाली नागरिकसरह समान हवाई भाडादरको सुविधा उपलब्ध गराउन नेपाल सरकारसमक्ष पुनः सादर अनुरोध गर्दछु।
यो कुनै नयाँ माग वा विशेष सहुलियतको अपेक्षा मात्र होइन, मातृभूमिसँग पुस्तौँदेखि जोडिएको सम्बन्धको सम्मान, समान व्यवहार र न्यायोचित व्यवस्थाको अपेक्षा हो।
हाम्रो माग स्पष्ट छ—नेपाली मूलका नागरिकलाई हवाई भाडामा समान व्यवहार, पारदर्शिता र न्यायोचित व्यवस्था सुनिश्चित गरियोस्।
नेपालको दुःखमा पनि सँगै, सुखमा पनि सँगै—नेपालको समृद्धि र आर्थिक विकासमा नेपाली डायस्पोरा सधैँ सँगै।
धन्यवाद।
सादर,


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha