काठमाडौँ, २३ असोज । इजरायलको दक्षिणी क्षेत्रस्थित किबुज अलुमिममा सन् २०२३ अक्टोबर ७ का दिन हमास समूहले गरेको भीषण आक्रमणमा परी निधन भएका ११ जना नेपाली विद्यार्थी तथा बन्धक अवस्थामा नै मृत्यु भएका विपिन जोशीको स्मृतिमा इजरायलमा विशेष स्मृति तथा दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ।
सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका ती होनहार युवा विद्यार्थीहरूको सम्झनामा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, इजरायलको आयोजनामा उक्त कार्यक्रम गर्न लागिएको हो। कार्यक्रम आगामी ७ अक्टोबर २०२६, बुधबारका दिन बेलुका ८स्३० बजे तेल अकिब, इजरायलस्थित फुटसल ग्राउन्डमा सञ्चालन हुनेछ।
श्रद्धाञ्जली अर्पण गरिने स्वर्गीय नेपाली विद्यार्थीमा बन्धक अवस्थामा नै मृत्यु भएका विपिन जोशी(कञ्चनपुर) , गणेशकुमार नेपाली (कञ्चनपुर), पदम थापा (डोटी), प्रवेश भण्डारी (सल्यान), राजेश्वर स्वर्णकार (सुनसरी), राजन फुलारा (डोटी), लोकेन्द्रसिंह धामी (बाजुरा), नारायणप्रसाद न्यौपाने (कैलाली), आशिष चौधरी (कैलाली), दिपेशराज विष्ट (बाजुरा), आनन्द साह (धनुषा) रहनुभएको छ ।
भलिबल प्रतियोगिता हुने
दिवंगत युवा विद्यार्थीहरूको सम्झनासँगै अनुशासन, स्वास्थ्य र भाइचाराको उद्देश्यले सोही दिन दिउँसो ४ बजेदेखि ६ बजेसम्म तेल अभिभमै “मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिता” समेत आयोजना गरिएको छ। नेपालको राष्ट्रिय खेल भलिबलप्रति इच्छुक सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थिति जनाउन आयोजकले हार्दिक आमन्त्रण गरेको छ। देशका होनहार युवा विद्यार्थीको स्मरणमा आयोजित सो पवित्र श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा उपस्थित भई मृत आत्माको चिरशान्तिको कामना गर्न इजरायलमा रहनुभएका सम्पूर्ण नेपाली समुदायलाई हार्दिक अनुरोध गरिएको छ।