२६ जेठ, काठमाडौं । गृह मन्त्रालयले ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४’ अन्तर्गत थप विभिन्न २५ क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा समावेश गर्दै ती क्षेत्रमा कुनै पनि प्रकारको हड्ताल गर्न निषेध गरेको छ । मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै दफा ३ को उपदफा (१) बमोजिम प्राप्त अधिकार प्रयोग गरी अत्यावश्यक सेवाहरूको सूची अद्यावधिक गरेको हो । नयाँ सूचीअनुसार तोकिएका क्षेत्रमा सेवा अवरुद्ध हुने गरी हड्ताल वा आन्दोलन गर्न पाइने छैन ।
सूचनाअनुसार सञ्चार तथा प्रविधि क्षेत्रअन्तर्गत डाँक, तार तथा टेलिफोन सेवा, छापाखाना तथा सरकारी मुद्रण सेवा, सञ्चार सेवा र इन्टरनेट सेवा अत्यावश्यक सेवामा राखिएका छन् । यस्तै राहदानी तथा कन्सुलर सेवा विभागबाट प्रदान गरिने सेवाहरू पनि अत्यावश्यक सेवामा समावेश गरिएको छ ।
त्यसैगरी यातायात तथा ढुवानी सेवातर्फ जल, स्थल तथा हवाई मार्गबाट यात्रु र मालसामान ओसारपसार गर्ने सेवा, हवाई अड्डा तथा हवाई जहाजको सञ्चालन, हेरचाह र मर्मतसम्बन्धी कार्य, रेलवे स्टेशन तथा सरकारी गोदाममा मालसामानको लोडिङ, अनलोडिङ र भण्डारणसम्बन्धी सेवा पनि अत्यावश्यक सूचीमा परेका छन् ।
स्वास्थ्य तथा सुरक्षासम्बन्धी सेवामा अस्पताल, स्वास्थ्य केन्द्र, एम्बुलेन्स सेवा, औषधि उत्पादन तथा वितरण, मास्क र ह्यान्ड सेनिटाइजर उत्पादन तथा आपूर्तिसम्बन्धी सेवाहरूलाई समेत अत्यावश्यक मानिएको छ । साथै आन्तरिक सुरक्षा, हातहतियार तथा सैनिक सामग्रीको उत्पादन र वितरणसम्बन्धी रक्षा सेवा पनि यस सूचीमा समेटिएको छ ।
दैनिक उपभोग्य वस्तु तथा ऊर्जा क्षेत्रमा पेट्रोलियम पदार्थ (एलपी ग्याससहित) को आयात, ढुवानी, भण्डारण र वितरणलाई अत्यावश्यक सेवा घोषणा गरिएको छ । त्यस्तै दाल, चामल, नुन, तेल लगायतका खाद्यान्नको आपूर्ति तथा वितरण, खानेपानी सेवा, विद्युत सेवा र फोहोरमैला संकलन, ढुवानी तथा व्यवस्थापनलाई पनि अत्यावश्यक सेवामा राखिएको छ ।
वित्तीय तथा अन्य सेवाअन्तर्गत बैंकिङ सेवा, बिमा सेवा, पर्यटन आवास, होटल, मोटेल, रेस्टुरेन्ट तथा रिसोर्ट सेवा, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा र भेटेरिनरी (पशु चिकित्सा) सेवासमेत अत्यावश्यक सेवामा समेटिएका छन् ।