आइतवार, बैशाख १३, २०८३ | April 26, 2026

राम खत्रीको संस्मरण ‘जीवन एक यात्रा अनेक’ सार्वजनिक

राम खत्रीको संस्मरण ‘जीवन एक यात्रा अनेक’ सार्वजनिक

  • Naveen Sanchar

  • आइतवार, बैशाख १३, २०८३

  • 6
    Views
राम खत्रीको संस्मरण ‘जीवन एक यात्रा अनेक’ सार्वजनिक

काठमाडौँ, १२ वैशाख

सर्जक राम खत्रीको संस्मरण ‘जीवन एक यात्रा अनेक’ सार्वजनिक भएको छ । काठमाडौँमा शनिबार साहित्यकार इल्या भट्टराईको अध्यक्षतामा आयोजित एक विशेष समारोहबीच उक्त कृति सार्वजनिक भएको हो ।

कार्यक्रमको प्रारम्भमा अशेष मल्लको निर्देशनमा, सर्वनाम नाट्यसमूहका कलाकारहरूले विमोचित कृतिको एक अंशमा आधरित छोटो नाटक प्रस्तुत गरे ।

कृतिमाथि आफ्नो विवेचनात्मक मन्तव्य राख्दै लेखक तथा पूर्वसचिव गोपी मैनालीले खत्रीको कृति मूलतः सरकारी सेवामा रहँदाका आफ्ना तीतामीठा अनुभवको इमान्दार दस्तावेजीकरण भएको बताए । सरल भाषामा रहको उक्त कृतिले सरकारी सेवाभित्रको ऊहापोह, विदेशमा रहँदाका सजिला–अप्ठ्यारा, कतिपय निजी र पारिवारिक तर सार्विक चासो र सरोकारका कुरा उठाएकोले अत्यन्त पठनीय भएको बताए । अर्का वक्ता युवराज मैनालीले खत्रीको कृतिले अतीतका मिहिनभन्दा मिहिन अनुभूतिलाई पनि रोमाञ्चक शैलीमा टिपेर पाठकको अभिरुचिलाई पनि ध्यान दिएको टिप्पणी गरे । समालोचक प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेल तथा पूर्वराजदूत मधुवन पौडेलले सर्जक खत्रीलाई कृति सफलताको शुभकामना व्यक्त गरे ।

कृतिको रचनागर्भको चर्चा गर्दै सर्जक राम खत्रीले आफ्नो आधा जीवन सरकारी सेवामै बितेको हुँदा पुस्तकको अधिकांश हिस्स त्यसै सेवाका अनुभवले ओगटेको बताए । आफ्नै निजी कथाभित्र पनि सार्विक महत्त्वका कतिपय कुरा आउन सक्ने विश्वासले यस कृतिको सिर्जना भएको उनले बताए ।

सभाध्यक्ष इल्या भट्टराईले आफू राम खत्रीको कार्यकुशलता र दायित्वबोधबाट लामो समयदेखि प्रभावित भएको टिप्पणी गरिन् । उनले भनिन्— ‘जसको जीवन र व्यवहार नै यति सरल र जिम्मेवार छ, उनको कृति स्वभाविक रूपमै पठनीय छ ।’

कृतिलाई रामगीता वाङ्मय मन्दिरले बजारमा ल्याएको हो । न्युयोर्कवासी खत्री परराष्ट्र सेवाका सेवानिवृत्त कर्मचारी हुन् र हाल न्युयोर्कमा बस्दै आएका छन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha