काठमाडौँ, १२ वैशाख
रामगीता वाङ्मय मन्दिर नेपाल–अमेरिकाले पाँच सर्जक तथा कलाकर्मीलाई विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित गरेको छ । शनिबार काठमाडौँमा वरिष्ठ साहित्यकार दुबसु क्षेत्रीको सभापतित्व तथा वरिष्ठ कवि तथा गीतकार नवराज लम्सालको प्रमुख आतिथ्यमा आयोजित एक विशेष समारोहबीच वरिष्ठ कवि मनप्रसाद सुब्बाको कविता–सङ्ग्रह ‘पञ्चतत्त्वको पालाम’ लाई पचास हजार राशिसहितको ‘प्रतीक–ढकाल लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ तथा नाट्यकमी आकांक्षा कार्कीलाई पचास हजार राशिकै ‘अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार’ बाट पुरस्कृत गरियो । यसै गरी साहित्यिक पत्रकार किशोर पन्थीलाई ‘रामगीता सञ्चार सेवा पुरस्कार’ बाट पुरस्कृत गरियो । वरिष्ठ गीतकार प्राध्यापक डा. कृष्णहरि बराल तथा वरिष्ठ कलाकार एवं अभिनेत्री सुषमा शाहीलाई गीतिकारिता तथा अभिनयको क्षेत्रमा उनीहरूको दीर्घ साधनाको कदर गर्र्दै ‘रामगीता लाइफटाइम एचिभ्मेन्ट अवार्ड’ बाट सम्मानित गरियो ।
पुरस्कृत तथा सम्मानित स्रष्टाहरूले आफूहरूको साधनाको कदर हुँदा खुसी लागेको बताए । वरिष्ठ कवि मनप्रसाद सुब्बाले भने, पाठकहरूबाट आफ्नो सिर्जना अनुमोदित भएको पाउँदा वास्तवमै पुरस्कृत भएको महसुस हुन्छ । नाट्यकर्मी कार्कीले आफू विशेष गरी नारीहरूको दबेको आवाजलाई सबैका सामु ल्याउने प्रयत्नमा लागिरहेको बेला यसरी पुरस्कृत हुनुले आफ्नो आत्मविश्वास थप बलियो भएको बताइन् । कलाकार सुषमा शाहीले नेपथ्यमा रहेर काम गर्न रुचाउने आफूजस्ता कलाकारलाई पनि सबैका सामु पुरस्कृत गरेर संस्थाले स्तुत्य काम गरेको टिप्पणी गरिन् । प्रा. डा. कृष्णहरि बरालले भने अन्य साहित्यिक सिर्जनाको तुलना गीत सिर्जनाको मूल्याङ्कनमा अधिकांशको ध्यान नगइरहेको समयमा गीतकारलाई सम्मानित गरेर रामगीता वाङ्मय मन्दिरले फरक सोचबाट काम गरेको बताए ।
समालोचक महेश पौड्यालले सबै पुरस्कृत र सम्मानित सर्जकहरूको योगदानको चर्चा गर्दै कीनोट मन्तव्य प्रस्तुत गरेका थिए । मन्तव्यमा उनले यी पुरस्कार र सम्मानको स्थापनाको उद्देश्य र प्रतिभा छनोट पक्रियाको जानकारी गराए । कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, तथा सर्जकहरू प्रतीक ढकाल, सावित्री कक्षपती तथा अशेष मल्लले सबै पुरस्कृत र सम्मानि सर्जकहरूलाई बधाई ज्ञापन गरेका थिए ।
सभालाई सम्बोधन गर्दै मन्दिरकी अध्यक्ष तथा पुरस्कारका संस्थापक गीता खत्रीले आफूले सर्जकहरूलाई जीवनकालमै सम्मान गर्ने उद्देश्यले प्रतीक ढकाल, लक्ष्मी ढकाल, अशेष मल्ल तथा सावित्री मल्लको सम्मानमा पुरस्कारहरू स्थापना गरेर नयाँ परिपाटीको थालनी गर्न खोजेको बताइन् । उनले भनिन्— ‘तपाईंहरू साथ दिनुहोस्, म नयाँ नयाँ योजना लिएर आउँछु ।’ आफूले आँटेपछि तत्काल गरिहाल्ने स्वभाव पनि आफूसँग रहेको उनले बताइन् ।
प्रमुख अतिथिको रूपमा सभालाई सम्बोधन गर्दैै कवि तथा गीतकार नवराज लम्सालले योग्य पात्रहरूको छनोट गरेकोमा मन्दिरलाई बधाई व्यक्त गरे । आफू स्वयं पनि कवि र गीतको सर्जक र प्रशंसक तथा विगतमा पत्रकार पनि भएको हुँदा यी विविध क्षेत्रको मर्म र पीडासँग आफू नजिकबाट परिचित भएकोले पनि बढी प्रसन्न भएको बतए । सभाध्यक्ष दुबसु क्षेत्रीले दीगो र अमानक नहुने भनेकै सिर्जनाको क्षेत्र हुने भन्दै सिजर्नाको कालजयितामाथि जोड दिए । उनले भने, ‘अन्य कुनै पनि जिम्मेवारीमा रहेको मान्छेको म्याद सकिन्छ, तर सर्जकको सकिँदैन । यो नै सबैभन्दा दिगो साधनाको क्षेत्र हो ।’
कार्यक्रमको सञ्चालन कवि तथा नियात्राकार भवानी खतिवडाले गरेकी थिइन् । मन्दिरले यस प्रकारका पुरस्कार र सम्मान प्रत्येक जोर वर्षमा एक पटक अर्पण गर्ने परिपाटी बनाएको छ ।