बिहिबार, चैत्र १९, २०८२ | April 2, 2026

ललितपुर महानगरद्वारा वातावरण भ्यान सञ्चालनमा

ललितपुर महानगरद्वारा वातावरण भ्यान सञ्चालनमा

  • Naveen Sanchar

  • बिहिबार, चैत्र १९, २०८२

  • 97
    Views
ललितपुर महानगरद्वारा वातावरण भ्यान सञ्चालनमा

ललितपुर महानगरपालिकाले वातावरण संरक्षण र सरसफाइका लागि वातावरण भ्यान सञ्चालनमा ल्याएको छ। महानगरका मेयर चिरीबाबु महर्जनले चैत्र १९ गते एक विशेष कार्यक्रमका बिच उक्त भ्यानको शुभारम्भ गर्नुभयो । भ्यानले प्रदूषण नियन्त्रण, वातावरणीय क्षति रोक्न अनुगमन गर्ने, र कारबाही गर्ने बताईएको छ । महानगरभित्र बढ्दो प्रदूषण नियन्त्रण र वातावरणीय अनुशासन कायम गराउन यो भ्यानले सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ । यस नवनिर्मित संयन्त्रमार्फत महानगर क्षेत्रमा हुने वातावरणीय क्षति रोक्न अनुगमन र कारबाहीलाई तीव्र पारिनेछ । विशेष गरी वातावरण प्रहरीले यो भ्यानको प्रयोग गरी नगरका विभिन्न ठाउँमा पुगेर खुला रूपमा आगो बाल्ने र प्लास्टिकजन्य वस्तु जलाउने कार्यलाई पूर्ण रूपमा निषेध गर्नेछन् ।

त्यस्तै, सडकमा अत्यधिक धुवाँ फाल्ने सवारी साधन र मापदण्ड विपरीत सञ्चालित उद्योगहरूको समेत यसै भ्यानमार्फत नियमित अनुगमन गरिने महानगरले जनाएको छ । वातावरण भ्यानको परिचालनले जथाभावी फोहोर फाल्ने, ध्वनि प्रदूषण गर्ने र सडक किनारका रुखबिरुवामा क्षति पुर्‍याउनेहरूमाथि तत्काल कारबाही गर्न सहज हुनेछ । सहरको कुरुपतालाई बढावा दिने अव्यवस्थित विज्ञापन तथा पोस्टर टाँस्ने कार्यलाई पनि अब कडाइका साथ नियन्त्रण गरिनेछ ।

नगर प्रहरी प्रमुख सिताराम हाछेथुले यो अभियानले स्वच्छ, हरित र व्यवस्थित ललितपुर निर्माणको लक्ष्यलाई मूर्तरूप दिन ठूलो सहयोग पुग्ने बताएका छन् । महानगरले वातावरण प्रहरीलाई विशेष अधिकार र स्रोतसाधनसहित सडकमा उतारेसँगै अब ललितपुरभित्र वातावरणीय मापदण्ड उल्लंघन गर्नेहरू कारबाहीको घेरामा पर्नेछन् । नगरबासीको स्वास्थ्य र सफा सहरको अधिकारलाई सुरक्षित गर्न यो पहल कोसेढुङ्गा सावित हुने महानगरको दाबी छ । स्थानीय प्रशासनले यस कार्यमा सम्पूर्ण नगरबासीलाई साथ दिन र आफ्नो वरपरको वातावरण स्वच्छ राख्न समेत अपिल गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha