शुक्रबार, चैत्र ६, २०८२ | March 20, 2026

काठमाडौँ महानगरका सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरिने

काठमाडौँ महानगरका सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरिने

  • Naveen Sanchar

  • शुक्रबार, चैत्र ६, २०८२

  • 58
    Views
काठमाडौँ महानगरका सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै वडा (३२ वटा) मा प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ । दुर्घटना, चोटपटक, अचानक विरामी पर्ने अवस्था जस्ता स्वास्थ्यजन्य आपतकालीन परिस्थितिमा विरामीलाई अस्पताल पु¥याउनु अघि अवस्था थप विग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । स्वीकृत मापदण्डअनुसारको तालिम सञ्चालन गर्न कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दिपकुमार के. सी. र रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलका बिच सम्झौता पत्रमा हस्ताक्षर भयो । ‘आपतकालीन अवस्थाका व्यक्तिको जीवन रक्षाका लागि यो अति जरुरी पर्छ । यसकारण प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्न लागेका हौँ ।’ सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘वडाको भौगोलिक अवस्था, तालिम लिने व्यक्तिको तत्परता जस्ता सूचकका आधारमा तालिम चल्नेछ । एक पटक प्रदान गरिएको तालिमलाई दिगो बनाउन आवश्यकताका आधारमा थप योजना तर्जुमा हुनेछन् ।’ सम्झौता बमोजिम हरेक वडामा २५ जनाको समूहलाई तालिम प्रदान गरिनेछ । तालिमको तयारीका लागि वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रसँग तयारी बैठक हुनेछ । हरेक वडाको तालिम सञ्चालन गर्न १ लाख ६३ हजार ८५० रुपियाँ खर्च हुनेछ । सोसाइटीले आउँदो असार १० गतेभित्र सबै वडामा तालिम सम्पन्न गर्नेछ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha