जेद्दा (साउदी अरब)साउदी अरब को मदिना मा केही दिनदेखि अलपत्र परेका २९ जना नेपाली उम्रा तीर्थयात्रीलाई जेद्दास्थित नेपाली महावाणिज्य दूतावास जेद्दा ले उद्धार गरेको छ। मध्यपूर्वमा बढ्दो राजनीतिक तनावका कारण उडानहरू रद्द भएपछि स्वदेश फर्किन नपाएर समस्यामा परेका उनीहरूलाई दूतावासको पहलमा नेपाल फर्काउने व्यवस्था मिलाइएको हो।
गत फेब्रुअरी १७ मा ‘सादाब नेट्रो ट्राभल्स’ मार्फत ३६ जनाको टोली उम्रा (धार्मिक तीर्थयात्रा) का लागि मक्का–मदिना पुगेको थियो। कपिलवस्तुका मोहम्मद ताहिर अलीको नेतृत्वमा आएको उक्त टोलीले तीर्थयात्रा पूरा गरी मार्च ३ मा नेपाल फर्किने योजना बनाएको थियो। तर क्षेत्रीय तनावका कारण विमानस्थलहरू बन्द भई उडानहरू रद्द भएपछि उनीहरू मदिनामै रोकिएका थिए।
उक्त ३६ जनामध्ये ७ जना आफ्नै खर्चमा भारतको मार्ग हुँदै नेपाल फर्किए भने बाँकी २९ जनासँग नयाँ टिकट खरिद गर्ने आर्थिक क्षमता नभएकाले उनीहरू मदिनामै अलपत्र परेका थिए। लामो समय बसोबास र खानपानमा समस्या भएपछि उनीहरूले जेद्दास्थित नेपाली महावाणिज्य दूतावाससँग सहयोगको याचना गरेका थिए।
समस्याको जानकारी पाएपछि दूतावास सक्रिय भएको थियो। कार्यवाहक महावाणिज्यदूत पारस पण्डित, वाणिज्यदूत सुवास यादव तथा प्रतिनिधि शौकत अली को टोली मदिना पुगेर तीर्थयात्रीहरूको आवास र भोजनको व्यवस्था मिलाएको थियो।
दूतावासको समन्वयमा उनीहरूलाई मार्च १० मा मदिनाबाट बसमार्फत रियाद पठाइएको छ। दूतावासका अनुसार रियाद बाट मार्च ११ बिहान १० बजे हुने उडानमार्फत उनीहरूलाई नेपाल पठाउने तयारी पूरा भइसकेको छ।
अप्ठ्यारो परिस्थितिमा राज्यले समयमै अभिभावकीय भूमिका निर्वाह गर्दै स्वदेश फिर्तीको व्यवस्था मिलाएकोमा तीर्थयात्रीहरूले नेपाली महावाणिज्य दूतावासप्रति आभार व्यक्त गरेका छन्।