बुधबार, फाल्गुन २७, २०८२ | March 11, 2026

परराष्ट्र मन्त्रालयमा उच्चस्तरीय बैठक: १२औँ एनआरएनए महाधिवेशन तयारीबारे विस्तृत छलफल

परराष्ट्र मन्त्रालयमा उच्चस्तरीय बैठक: १२औँ एनआरएनए महाधिवेशन तयारीबारे विस्तृत छलफल

  • Naveen Sanchar

  • मङ्लबार, फाल्गुन २६, २०८२

  • 30
    Views
परराष्ट्र मन्त्रालयमा उच्चस्तरीय बैठक: १२औँ एनआरएनए महाधिवेशन तयारीबारे विस्तृत छलफल

काठमाडौँ । परराष्ट्र मन्त्रालय को आयोजनामा मंगलबार काठमाडौँमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन सफलतापूर्वक सम्पन्न गर्ने विषयमा विस्तृत छलफल गरिएको हो।

बैठकमा बालानन्द शर्मा, एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसीमहेश कुमार श्रेष्ठ सहित विभिन्न सरकारी निकाय तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री शर्माले आगामी १२औँ एनआरएनए महाधिवेशन तथा विश्व सम्मेलनले संगठनभित्र देखिएका चुनौतीहरू समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अनलाइन भोटिङ प्रणाली प्रभावकारी बनेमा सरकारले पनि त्यसलाई अवलम्बन गर्न सक्ने संकेत गर्नुभयो। साथै, विश्वभर फैलिएको एनआरएनको नेटवर्कले सांस्कृतिक आदान–प्रदान र सहकार्यलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राई ले पनि सम्मेलनको सफलताको कामना व्यक्त गर्दै एनआरएनलाई नेपाल सरकारको महत्वपूर्ण साझेदार संस्था का रूपमा लिइएको बताउनुभयो।

यसअघि बोल्दै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले महाधिवेशनको तयारीबारे जानकारी दिँदै वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अनलाइनमार्फत पनि मनोनयन दर्ता गर्ने व्यवस्था गरिएको बताउनुभयो। उहाँले “हाम्रो एकता, समृद्धिको आधार” भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिने जानकारी दिनुभयो।

उहाँका अनुसार महाधिवेशनको उद्घाटन रामचन्द्र पौडेल ले गर्ने तय भएको छ भने उद्घाटनकै दिन वैदेशिक रोजगार, युवा, महिला, संस्कृति तथा रूपान्तरण लगायत विषयमा चार वटा सत्र सञ्चालन गरिनेछ। सम्मेलनको समापन केपी शर्मा ओली बाट हुने जानकारी पनि दिइएको छ।

बैठकमा बोल्दै एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठले विगतमा देखिएका केही असमझदारीका कारण संगठनको मूल उद्देश्य कमजोर भएको भए पनि अहिले सरकारले देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विदेशमा रहेका नेपालीहरूसँग वार्षिक करिब २० खर्ब रुपैयाँ बराबरको पूँजी रहेको उल्लेख गर्दै उपयुक्त कानुनी व्यवस्था र लगानीमैत्री वातावरण बनेमा ठूलो लगानी नेपालमा भित्र्याउन सकिने बताउनुभयो।

बैठकमा विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूले पनि गैरआवासीय नेपालीहरूको अनुभव, ज्ञान र पूँजीलाई नेपालका विकास र लगानी क्षेत्रमा उपयोग गर्न आवश्यक रहेकोमा जोड दिएका थिए।

सहभागीहरूले आगामी १२औँ एनआरएनए महाधिवेशन तथा विश्व सम्मेलन लाई सफल बनाउन सरकार, निजी क्षेत्र र एनआरएन समुदायबीच समन्वय र सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha