-नवीनसञ्चार सम्वाददाता
दक्षिण कोरिया ।
नेपालको गोरखा, पालुङ्टार, वडा नं.५ घर भई दक्षिण कोरियमा वैदेशिक रोजगारीको सिलसिलमा रहनुभएका युवा असिन तामाङ विगत आठवर्षदेखि सम्पर्कविहीन हुनुभएको छ । तामाङ सम्पर्कविहीन भएपछि उहाँको घरमा रुवाबासी चलेको छ । घरको युवा सदस्य, आशाभरोसाको केन्द्र सम्पर्कमा नआएपछि परिवारमा चिन्ता छाएको छ ।
दक्षिण कोरियामा रहनुभएका नेपाली समुदायलाई अनुरोध
असिनको परिवारले उहाँको खोजीमा सहयोग गरिदिन दक्षिण कोरियामा रहनुभएका नेपाली समुदायलाई अनुरोध गर्नुभएको छ । कसैले उहाँको बारेमा कुनै जानकारी प्राप्त गर्नुभएमा नेपाल गोर्खा परिवार, दक्षिण कोरियाका अध्यक्ष देवी गौतमलाई खबर गरिदिन अनुरोध गरिएको छ । आफूले जन्माएर हुर्काई कोरिया पठाएको छोरो सम्पर्कविहीन भएपछि नेपालमा असिनकी ६३ वर्षीय आमाको भोक र निद्रा समेत चिन्ताका कारण गायब भएको छ । ‘बाबु तिमी सम्पर्कमा आऊ, आफ्नो घर फर्क, तिम्रो ज्यानमात्रै भएपुग्छ’- उहाँले भन्नुभयो । – ‘कोरियामा कसैले असिनलाई देख्नुभएमा खबर गरिदिनुहोला ।’ अन्तिमपटक कुराकानी हुँदा असिनलाई ‘कमाउन नसकेपनि घर आऊ भनेको’ असिनकी वयोवृद्ध आमाले जानकारी दिनुभयो ।सोेझो र इमान्दार स्वभावका विवाहित असिनको घरको नाम आइतबहादुर हो । २०७१ साल जेठमा कोरिया आउनुभएका असिन सम्पर्कविहीन भएको आठ वर्ष भयो । आठ वर्षदेखि असिनले फोन, सम्पर्क र पैसा समेत पठाउनुभएको छैन । कम बोल्ने स्वभावका असिनको परिवार , आफन्तसँग मनमुटाव थिएन ।असिनका आफन्त आफ्ना सम्पर्कविहीन प्रियजनको अवस्था जान्न चाहन्छन् । असिनको प्रतीक्षामा रहेका पीडित परिवारलाई सान्त्वना दिन सबैले खोजीमा सहयोग गरिदिन नेपाल गोरखा परिवार, दक्षिण कोरियाका अध्यक्ष गौतमले अनुरोध गर्नुभएको छ ।