-नवीनसञ्चार सम्वाददाता
पोर्चुगल । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकको सह–अध्यक्षता गर्न नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई पोर्चुगल आइपुग्नुभएको छ । द्विपक्षीय परामर्शका क्रममा परराष्ट्र सचिवले पोर्चुगलको परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुका साथै नवस्थापित नेपाली दूतावासको उद्घाटन गर्ने कार्यक्रम रहेको पोर्चुगलस्थित नेपाली राजदूतावासले जनाएको छ । छिल्लो समयमा वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक गन्तव्य बन्दै गएको पोर्चुगलमा परराष्ट्र सचिव राईले नेपाली प्रतिनिधिसँग समेत कुराकानी गर्नुहुने छ । हाल यहाँ ४० हजारभन्दा बढी नेपाली रहनुभएको छ ।

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा सहकार्यबारे विमर्श हुनेछ । साथै नेपाल–पोर्चुगल सम्बन्धको समग्र अवस्थाको समीक्षा हुने भएको छ । पोर्चुगलको लिस्बनमा शुक्रबार आयोजना हुन गइरहेको संयन्त्रको बैठकमा दुवै पक्षले साझा चासोका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।


