शुक्रबार, माघ १०, २०८२ | January 23, 2026

मुन्धुम: सृष्टि र आत्माको दिव्य संवाद

मुन्धुम: सृष्टि र आत्माको दिव्य संवाद

  • Naveen Sanchar

  • बिहिबार, माघ ९, २०८२

  • 20
    Views
मुन्धुम: सृष्टि र आत्माको दिव्य संवाद

 

तोमनाथ उप्रेती

मुन्धुम सृष्टिको सनातन सङ्गीत हो, आत्माको अदृष्ट आलोक हो र ब्रह्माण्डको अद्भुत अनुगुञ्जन हो। यो  आत्माले आकाशसँग गरेको आलिङ्गन हो, पृथ्वीको स्पन्दनसँग गरिएको साक्षात्कार हो र चिरकालीन चैतन्यसँग गरिएको संवाद हो। साम्बाका स्वरहरू जब बिहानको शितल हावासँग मिसिन्छन्, त्यो क्षण मुन्धुमले सृष्टिको समग्र सौन्दर्यलाई सुगन्धित गरी बगाउँछ। जब फेदाङमाहरूले तागेरानिङ्वाफुमाङलाई पुकार्छन्, त्यो पुकार केवल वाणी होइन, त्यो त अनन्त शून्यतामा उत्खनन गरिएको दिव्यता हो, जसले हामीलाई हाम्रो सीमितताबाट असीमिततामा रूपान्तरण गर्छ। मुन्धुमका प्रत्येक लयहरू ब्रह्माण्डका ताराहरूको टल्काइमा आत्माको निःशब्द तृष्णा जस्तै छ, प्रत्येक मन्त्रहरू मनका गहिराइमा खस्ने ग्रीष्मको पातझर जस्तै छ, जसले हामीलाई निरन्तर स्मरण गराउँछ—जीवन सागर हो, र हामी त त्यसमा डुबुल्की मार्ने जिज्ञासु तत्त्व हौं।

मुन्धुमले हामीलाई केवल कर्मको मार्गमा होइन, चेतनाको चुचुरोमा चढ्न सिकाउँछ। यसले भन्छ– जीवन स्थिर भए मृत हुन्छ, गतिशील भए जीवित रहन्छ, र चेतनशील भए दिव्य हुन्छ। जब साम्बाले मुन्धुम गाउने क्रममा वनस्पतिहरूको नाम, पहाडका शिखर, खोला, नदि र आकाशका ताराहरूको स्मरण गर्छन्, त्यो केवल नामहरूको समुच्चय होइन, त्यो त प्रकृतिको नाडी जाँच्ने आध्यात्मिक औषधि हो। यो श्रुति–श्रद्धाको संगम हो, जसले शान्ति, सेवा र सत्यको सन्देश दिन्छ। मुन्धुमका कथाहरू आँखी, डाही, लोभ र क्रोधको जञ्जालबाट मुक्त हुन सक्ने मार्गदर्शक बन्छन्। जब मुन्धुममा ‘माङ’लाई ब्रह्माण्डीय चेतनाको रूपमा पुकारिन्छ, त्यो क्षण प्रत्येक आत्मामा दिव्यता उदाउँछ, प्रत्येक कर्ममा पवित्रता उदाउँछ, र प्रत्येक श्वासमा साधना सरी पवित्र लहर बहन्छ। मुन्धुम सृष्टिको सन्ध्या आरती हो, जीवनको प्रार्थना हो, र कर्मको ध्यान हो।

मुन्धुम हाम्रो जीवनलाई आध्यात्मिक दिशामा दिक्षित गराउने दीपशिखा हो। यो हामीलाई शिक्षा दिन्छ— ‘तिमी जीवनलाई प्रेम गर, तर मोह नगर्नु, कर्म गर तर अहंकार नगर्नु, सचेत रह तर घमण्ड नगर्नु, विचार गर तर द्वेष नगर्नु।’ मुन्धुमको मन्त्रहरू आत्माको आकाशमा गुञ्जिने बेलामा, हाम्रो चेतनाको कम्पनहरू ब्रह्माण्डको लयसँग एकाकार हुन्छन्। त्यो क्षण हाम्रो हृदयमा भएको पापको कालिमा पखालिन्छ, हाम्रो मस्तिष्कमा रहेको लोभको कुहिरो हट्छ, र हाम्रो आत्मामा शान्ति र सहिष्णुताको प्रभा प्रज्वलित हुन्छ। मुन्धुमले भन्छ– जीवन एक पवित्र यात्रा हो, र प्रत्येक पाइला साधना हो, प्रत्येक सास ध्यान हो, र प्रत्येक कर्म पूजा हो। यसरी मुन्धुम सृष्टि र आत्माको दिव्य संवाद बनेर, हामीलाई पृथ्वीको कण–कण र आकाशको तारा–तारा सँग आत्मीय सम्बन्ध गाँस्न सिकाउँछ, जसले हाम्रो अस्तित्वलाई दिव्यता र दायित्वको दर्पणमा प्रतिबिम्बित गरिदिन्छ।

मुन्धुम कुनै सीमित जातीय अनुष्ठान मात्रै होइन, ब्रह्माण्डको चेतन लय र आत्मिक उत्थानको द्योतक हो, जसले जीवनलाई स्थिरताबाट गतिशीलताको यात्रामा लगेर आध्यात्मिक जिम्मेवारीमा बाँध्दछ। यसको उत्पत्ति ‘मुन्’ (हल्लनु) र ‘थुम्’ (बल) बाट भएको हुनुले यसको मौलिक उद्देश्यलाई स्पष्ट पार्दछ—सृष्टि र जीवन अनवरत गतिमा चलिरहून् र चेतना निस्तेज नहोस्। सृष्टिको चक्र: बीउ रोपिने, बढ्ने, फल्ने र माटोमा फर्किने निरन्तरता जसरी गतिशील चेतनाको यात्रा हो, त्यसरी नै मुन्धुमको गायन, श्रवण र स्मरण पनि जीवनको प्रत्येक श्वासलाई ब्रह्माण्डीय लयसँग समाहित गर्न साधना हो। साम्बा र फेदाङमाका मुखबाट निस्कने मुन्धुमको स्वर केवल वाणी होइन, ब्रह्माण्डका नक्षत्र र पृथ्वीका जलधारासँगको संवाद हो, जसले हरेक अनुष्ठानलाई ब्रह्माण्डीय सम्झौतामा रूपान्तरण गर्दछ र आत्मालाई आकाशीय स्पर्श दिन्छ। यसैले मुन्धुमको गुञ्जनमा नादब्रह्मको दिव्यता मिसिएको हुन्छ, जहाँ आत्मा र सृष्टिको आत्मा एउटै धड्कनमा कम्पित हुन्छन्।

याक्थुङ मुन्धुमको आध्यात्मिक दृष्टिकोणले जीवनका लोभ, ईर्ष्या, हिंसा, छल र अहंकारजस्ता दुर्गुणलाई त्याग्दै आत्मा शुद्ध बनाउने दिशामा लैजान मार्गदर्शन गर्दछ। ‘तागेरा’ र ‘निङ्वाफु’ को समन्वयले देखाउँछ कि माङ कुनै व्यक्तिमा सीमित नभई चेतनाका प्रत्येक तरंगमा व्याप्त ब्रह्माण्डीय उपस्थिति हो, जुन न जन्ममा, न मृत्युमा, न समय र स्थानमा बाँधिनुपर्ने सत्यको आभास दिलाउँछ। मुन्धुममा वर्णित प्रत्येक अनुष्ठान र प्रतीक, जस्तै तङ्सिङ राख्नु वा गालीसराप बगाउनु, बाह्य क्रियाभन्दा बढी आत्मिक शुद्धीकरणको अभ्यास हुन्, जसले हाम्रा कर्मलाई दिव्यता र जीवनलाई सन्तुलनमा राख्दछ। यसरी मुन्धुमलाई आधुनिक चेतनामा व्याख्या गर्नु भनेको जीवनलाई आध्यात्मिक गतिशीलतामा राख्दै, सांस्कृतिक अस्मिता र आत्मिक मुक्तिको यात्रामा अघि बढ्नु हो, जसले पृथ्वीलाई मात्रै होइन, हाम्रा कर्म र चेतनालाई पनि ब्रह्माण्डसँग जोडेर जीवनलाई दिव्यता र अर्थपूर्णताको शिखरमा पुर्‍याउँछ।

हिन्दु वेद र बाइबलले ‘शब्द’ लाई सृष्टि र ईश्वरको मूल माने जस्तै, याक्थुङ मुन्धुमले पनि शब्द (माङ) लाई चेतना र सृष्टिको मूल शक्ति ठानेको छ। याक्थुङ लिम्बू पुर्खाहरूको निरीक्षणशील दृष्टिकोणले प्रकृतिका चिह्नहरूबाट चेतन शक्तिको उपस्थिति अनुभूति गरी ‘तागेरानिङ्वाफुमाङ’ लाई परिभाषित गरे।
याक्थुङ दर्शनमा ईश्वर कुनै ‘आकृति’ नभई सृष्टिका कण-कणमा व्याप्त चेतना हो, जसले सृष्टिको उत्पत्ति र त्यसको चक्रलाई गतिशील राख्दछ। जीवनको गति नै सृष्टिको जीवन्तता हो, र गतिशीलताको शक्ति नै ईश्वरको अभिव्यक्ति हो। यसरी मुन्धुमले मानिसलाई केवल पूजा गर्ने नभई, सृजनशील र गतिशील चेतनाको मार्गमा बाँच्ने प्रेरणा दिन्छ।

लिम्बूहरूको मुन्धुम सृष्टि, सौन्दर्य र सम्पूर्णताको खोजी गर्ने जीवनदर्शन हो, जसले सृष्टि र जीवनलाई गहिराइका साथ बुझ्न र अर्थ दिन सिकाउँछ। मुन्धुमका कथाहरूमा महाशून्यबाट अचानक हुण्डरीजस्तै हावा चलेर उत्पन्न भएको स्वयम्भू चेतन सत्ताले ब्रह्माण्डको सृष्टि गरेपछि पनि बारम्बार सुन्दरता र पूर्णता खोजिरहन्छ। आकाश, घाम, जून, तारा, नदी, पहाड, वनस्पति, जनावरहरू सृष्टि गर्दा पनि सृष्टिकर्ताको चित्त बुझ्दैन, “सुहाएन, पूर्ण भएन” भन्छ, र अन्त्यमा मान्छेको सृष्टि भएपछि मात्र सृष्टि पूर्ण र सुन्दर देखिन्छ। यसले देखाउँछ कि मान्छे मात्र सृष्टिको पूर्णता र अर्थका लागि केन्द्र हो। तर यो मान्छे पनि सुन, चाँदी, हिरा, मोतीबाट बनाइएका मुर्तिहरूले बोल्न नसकेपछि अस्वीकार हुन्छ र अन्ततः माटो र खरानीबाट बनेको मान्छेले मात्र बोल्न सक्छ। यसले सृष्टिलाई अर्थ दिन्छ र जीवनलाई नश्वर बनाएर यसको महत्त्व र सुन्दरता प्रकट गर्छ। मुन्धुममा भाषाको महत्व विशेष देखिन्छ, किनकि अर्थपूर्ण ध्वनि र भाषा नभएसम्म मान्छे मान्छे हुन सक्दैन, र यसैले भाषा र बाणीले जीवनलाई अर्थ दिन्छ र अन्य जीवबाट भिन्न बनाउँछ।

मुन्धुमको दर्शनले समग्रता, सहअस्तित्व र सत्यमा आधारित जीवनलाई पूर्ण र सुन्दर ठान्छ। सम्पूर्णता भनेको सबैको उपस्थिति र समावेशीपन हो, जसमा प्रकृति र समाजसँगको सहअस्तित्व आवश्यक हुन्छ, र यसमा कुनै पक्षपात वा बहिष्कार हुँदैन। यसले सत्य र सुन्दरतालाई जीवनको आधार मान्दै सजीव, निर्जीव, चराचुरुङ्गी, वनस्पति, पानी, हावा, माटो सबैको संरक्षण र सहअस्तित्वमा जोड दिन्छ, किनकि मान्छे एक्लै बाँच्न सक्दैन। मुन्धुमले अरुलाई दुःख नदिई सरल र सुखी जीवन बाँच्न सिकाउँछ र पाप, लोभ, ईर्ष्या, रिस, छल कपटबाट जीवनलाई मुक्त राख्न आग्रह गर्छ। यसले प्रत्येक जाति, संस्कृति र भाषाको अस्तित्व र दर्शनलाई स्वीकार्दै समावेशी दृष्टिले सामाजिक सद्भावमा योगदान दिन सिकाउँछ। यसरी मुन्धुम लिम्बूहरूको लागि मात्र होइन, मानव जीवनलाई पूर्ण र सुन्दर बनाउने मार्गदर्शक दर्शन हो, जसले प्राकृतिक र मानवीय सन्तुलनको रक्षा गर्दै जीवनलाई अर्थपूर्ण, नैतिक र आनन्दमय बनाउँछ।

मुन्धुम लिम्बू जातिको मौलिक जीवनदर्शन मात्र नभई गेयात्मक र काव्यात्मक ज्ञानको जीवित स्रोत हो, जसले प्रकृति, समाज र जीवनको सम्पूर्णताको खोजी गर्दछ। ‘साम’ भन्नाले वेदकै सामवेद जस्तो गेय रचना जनाउँछ, जसलाई लिम्बूले ‘साम्लोमा’ र ‘साममेSमा’ जस्ता शब्द प्रयोग गरेर गीत र भजनका रूपमा गाउने गर्दछन्। यस्तो गेयात्मक संरचनालाई वाचन गर्ने पुजारीलाई ‘साम्बा’ भनिन्छ, जसको अर्थ नै ‘कवि’ हो। मुन्धुमका गीत र कथाहरू मात्र मनोरञ्जनको साधन होइनन्, ती मानिसलाई जीवनका कठिनाइ, पापबोध, सामाजिक सम्बन्ध र पारिवारिक साइनोको अर्थ सिकाउने जीवित पाठशाला हुन्। मुन्धुममा उल्लेख हुने कथाहरू—जस्तै दाजुभाइबीचको द्वन्द्व, बाघजस्तो हिंस्रक दाजुको वध, वा हाडनातामा पापबोधसँग जोडिएका कथाहरू—सामाजिक, नैतिक र आत्मिक शुद्धताको सन्देश बोकेका छन्। यसले पाप र पवित्रताको सिमाना कोरेर सभ्य समाज निर्माण गर्न सहयोग पुर्‍याउँछ र भाषा, संचार, गीत र प्रकृतिसँगको सहअस्तित्वमा आधारित जीवन निर्माण गर्न प्रेरित गर्छ। यसरी मुन्धुमको गेयता, लय, कथा र काव्यात्मकता लिम्बू सभ्यताको नैतिक मेरुदण्डको रूपमा रहेको छ, जसले प्रत्येक कर्मलाई अर्थ, उद्देश्य र समाजप्रति उत्तरदायित्वको भावनामा बाँधेर राख्दछ।

मुन्धुमले प्रकृतिसँगको घनिष्ट सम्बन्धका माध्यमबाट मात्र जीवनको सार्थकता सम्भव छ भन्ने गहिरो बोध गराउँछ। साम्बा, येवा, फेदाङमा आदि पुरोहितहरू अनुष्ठान गर्दा बलेसी, चुलो, छाना हुँदै, जंगल, खोलानाला, पहाड, डाँडाजस्ता प्राकृतिक भौगोलिक विविधता फलाक्दै ‘तङ्सिङ’ राखेर गाउने परम्पराले देखाउँछ कि लिम्बूको जीवन प्रकृतिको अंग भएर मात्र सम्भव छ। भाले, कुखुरा, सुँगुर, जाँड, मर्चा आदिसहितको अनुष्ठान र ‘गालीसराप बगाउने’ परम्परा पारिवारिक र सामाजिक सद्भाव र नकारात्मक भावनालाई समुद्रमा बगाउने प्रतीकात्मक कर्म हुन्। मुन्धुमले लोभ, रिस, डाहा, कपटजस्ता दुर्गुणहरू नै नाशका कारण हुन् भनेर देखाउँदै सकारात्मक सोच र सदाचारलाई जीवनको आधार बनाउन सिकाउँछ। यसले मृत्यु र दुःखलाई परास्त गर्न सक्ने उपायका रूपमा आध्यात्मिक शुद्धि, सहिष्णुता र प्रकृतिसँगको सन्तुलनलाई प्रस्तुत गर्दछ। यसरी मुन्धुमको गेयात्मक संरचना, कथाशैली र आध्यात्मिक मार्गदर्शन लिम्बू समाजलाई दीर्घकालीन अस्तित्व, सामाजिक एकता र नैतिक जीवन बाँच्नका लागि प्रेरक शक्ति प्रदान गर्दछ, जसले मान्छे भएर पनि ईश्वरजस्तो चेतनशील, करुणामय र प्रकृतिसँग अभिन्न भएर बाँच्न सिकाउँछ।

याक्थुङ लिम्बू मुन्धुमको गहिरो दृष्टिकोणले देखाउँछ कि जीवनको सार्थकता ‘सम्पूर्णता’मा निहित छ, जहाँ राम्रो र नराम्रो दुवैलाई स्वीकार गर्दै सन्तुलन राख्नु जीवनको प्रमुख लक्ष्य हो। तङ्सिङ गर्दा पोखरीमा माछा छाड्नु, वरिपरि फूल रोप्नु, यौन र यौवनलाई जीवन्तताको प्रतीक मान्नु, र पुर्खाको इतिहासलाई जीवन्त राख्ने कार्यलाई मुन्धुमले जीवनमा सौन्दर्य र सार्थकताको स्थापना गर्नुपर्ने सन्देशका रूपमा प्रस्तुत गर्छ। माङ आफैंमा सम्पूर्णताको प्रतीक हो—न स्त्री, न पुरुष—तर दुवै रूप ग्रहण गरेर जीवनमा अवतरित हुन्छ, जसरी युमा देवी मानवीय स्वरूपमा प्रकट भई लिम्बू सभ्यतालाई शिप, कला, ज्ञान र सभ्यताको पाठ पढाएर संरक्षण गर्छिन्। युमा केवल निर्गुण नभई, दृष्टिगोचर भएर मार्गदर्शन गर्ने शक्ति हुन्, जसले मानिसलाई तप, चिन्तन, ध्यान र सकारात्मक परिकल्पनाको बाटो देखाउँदै कठिनाइहरू पार लगाउन मद्दत गर्छिन्। लिम्बू संस्कृतिमा ‘सपनालाई जेठो’ ठानी ‘सेप्माङ तुम्बा’ भनिनु यसको प्रमाण हो, जसले देखाउँछ कि विचार र सपना जीवनलाई सही दिशामा अघि बढाउने प्रेरक शक्ति हुन्।

अहिलेको पहिचानको युगमा लिम्बूले अपनाएको युमा धर्म लिम्बू जातिको सांस्कृतिक, धार्मिक र आध्यात्मिक अस्तित्व जोगाउने अभियानको रूप लिएको छ। सत्यहाङ किरात धर्म सबै जातिहरूले अँगाल्न सक्ने भए पनि युमा धर्म लिम्बूको जीवनशैली, संस्कृति र परम्परा अनुरूपको मार्गदर्शक बनेर उभिएको छ, जसले जीवनलाई पापरहित, सुखी, स्वर्गीय र समाजमैत्री बनाउने शिक्षा दिन्छ। यसले देखाउँछ कि विशुद्ध धर्म कुनै जातिसँग मात्र सीमित नहुने र सबैलाई समेट्न सक्ने हुन्छ, तर लिम्बूको युमा धर्मले आफ्नै पहिचान, संस्कार र संस्कृतिलाई संरक्षण गर्दै विशुद्ध धर्मको नै मार्ग अनुसरण गर्छ। यसैले मुन्धुम र युमा धर्मले सिकाएको सम्पूर्णतावादको दृष्टिकोण हामीलाई आफ्नो जीवनलाई सकारात्मक बनाउँदै प्राकृतिक, पारिवारिक र सामाजिक सन्तुलनमा बाँच्न प्रेरणा दिन्छ, जहाँ हाम्रो अस्तित्व मात्र होइन, हाम्रो सभ्यताको भविष्य पनि सुरक्षित हुन्छ।(लेखक समाजशास्त्री हुन् ।)

 

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha