माधव अधिकारी
काठमाडौँ, ८ माघ
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका बावजुद समेत महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन समयमै तयार हुने भएको छ । निर्वाचन अवधिभर महालेखापरीक्षकको कार्यालयका कर्मचारी कार्यालयमा नै वार्षिक प्रतिवेदन तयारीमा जुट्नेछन् । चैत्र मसान्तसम्म लेखापरीक्षण प्रतिवेदन पठाई सम्परीक्षणको समय दिएर २०८३ वैशाखमा वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यतालिका रहेको कार्यालयले जनाएको छ । निर्वाचन घोषणा भएपछि माघ मसान्तसम्म स्थलगत लेखापरीक्षण सम्पन्न गर्नेगरी कार्यालयले वार्षिक लेखापरीक्षण योजनामा संशोधन गरेको थियो । आगामी वार्षिक प्रतिवेदनको आकार र ढाँचामा केही परिवर्तन हुनसक्ने सम्भावना रहेपनि बेरुजुको रकम, प्रवृत्ति र प्रकृतिमा तात्विक भिन्नता नआउने कार्यालयका प्रवक्ता नायब महालेखापरीक्षक श्रीकुमार राईले बताउनुभयो ।

भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका दौरान आगजनीबाट कतिपय संघीय, प्रदेशका निकाय र स्थानीय तहको कागजात जलेका कारण लेखापरीक्षणमा कठिनाई उत्पन्न भएको प्रवक्ता राईले जानकारी दिनुभयो । निर्वाचन सम्पन्न भएपश्चात् आगामी आर्थिक वर्षमा निर्वाचन खर्चको लेखापरीक्षण गरिने राईको भनाई छ ।

कार्यालयले आर्थिक अनुशासनका विषयमा विभिन्न सचेतनामूलक गतिविधि समेत सञ्चालन गरिरहेको जनाएको छ । सरोकारवालाले भर्चुअल प्लेटफर्म मार्फत महालेखापरीक्षक तोयम रायासँग लेखापरीक्षणका सम्बन्धमा अन्तक्र्रिया गर्नसक्ने नौलो अभ्यासको थालनी गरिएको छ । लेखापरीक्षण अन्तक्र्रिया तथा छलफल, नेपाल टेलिभिजनबाट ‘सुशासन सवाल’ कार्यक्रम सञ्चालन, देशभरका एफ.एम रेडियोबाट सार्वजनिक सूचना प्रसारण भइरहेको छ । कुनैपनि उजुरी, गुनासो, सुझाव कार्यालयको टोल फ्रि नम्बर १८१०५००००६१ मा अटो रेकर्ड गर्ने व्यवस्था मिलाइएको छ । कार्यालयले नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघसँगको सहकार्यमा स्थानीय तहका पदाधिकारीलाई लेखा, लेखापरीक्षण, बेरुजु र सम्परीक्षणका विषयमा प्रशिक्षण समेत दिँदै आएको छ ।नेपाल लेखापरीक्षण व्यवस्थापन प्रणाली (न्याम्स) मा बेरुजु लेखन, सम्परीक्षणको ढाँचा लगायतका प्राविधिक विषयमा व्यापक सुधार गरिएको प्रवक्ता राईको कथन छ । कार्यालयले सर्वोच्च लेखापरीक्षण संस्थाहरुको अन्तर्राष्ट्रिय संगठन(इन्टोसाई) र एशियाली सर्वोच्च लेखापरीक्षण संस्थाहरुको संगठन (एसोसाई)द्वारा आयोजित कार्यक्रममा नियमित सहभागिता जनाउँदै आएको छ ।