
नवीनसञ्चार रोशन अर्याल /दोहा
नेपाली कला संस्कृतिको सम्मान गरौ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौ’ भन्ने नाराका साथ लुकेर बसेको कलालाई प्रष्फुटन/उजागर गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको सयुक्त आयोजनामा हुन गइरहेको गैरआवासीय नेपाली तारा- २०२३ (चौथो संस्करण- गायन तथा नृत्य प्रतियोगिता ) को ग्राण्ड फिनाले प्रतियोगिता आगामी फेब्रुअरी – २ तारिक “ट्युनिसियन स्कुल अल लुक्त्तामा शुक्रबार हुदैछ ।
अतिथि निर्णायकको भुमिकामा नेपालबाट गायन बिधाको लागि बरिष्ठ सर्जक,संगीतकार तथा गायक रामकृष्ण ढकाल र नृत्य बिधाको निर्णायकमा मोडल तथा कोरियोग्राफर पुर्णिामा श्रेष्ठ नेपालबाट कतार आई सकेका छन्। हमाद विमानस्थलमा दुवै सस्थाका पदाधिकारी, पत्रकार तथा अन्य महानुभावको बाक्लो उपस्थितिका साथ भब्य स्वागत गरेका छन्। कार्यक्रमलाई अरु भब्य तथा निस्पक्ष बनाउनका निमित्त, प्रतिस्पर्धीहरु लाई हौसला प्रदान गर्नु प्रमुख निर्णायकका भूमिकामा नेपालबाट बोलाईएको आयोजकले बताएका छन्।
गत डिसेम्बर -१ तारिकदेखी सुरु भएको गैरआवासीय नेपाली तारा सिजन -४ ले विभिन्न चार चरण पार गरि अन्तिम ग्राण्ड फिनाले सम्ममा पुगेको छ। ६८ जना डिजिटल अडिसनबाट छानिए पनि ४९ जना प्रतिस्पर्धी मात्र प्रत्यक्ष सहभागी भएको पहिलो अडिसनबाट क्रमश दोस्रो, तेस्रो अडिसन सम्म आइपुग्दा गायन र नृत्य दुबै बिधाबाट समान ५-५ जनाले ग्राण्ड फिनाले लागि प्रतिस्पर्धा गर्दै छन् ।
ग्रान्ड फिनालेमा पुग्ने १० प्रतिस्पर्धी हरुमा गायन तर्फ दिपक कुमार घले भोटिङ नम्बर -१, इशान रेग्मी भोटिङ नम्बर -२, सुजन गुरुङ भोटिङ नम्बर -३, मानसिङ परियार भोटिङ नम्बर -४ र रुस्तम तामाङ भोटिङ नम्बर -५ रहेका छन । नृत्यतर्फ जुनुमाया कुमाल भोटिङ नम्बर -१, सरोज लामा भोटिङ नम्बर -२, निरु श्रेष्ठ भोटिङ नम्बर -३, झरना राई भोटिङ नम्बर -४ र सौजन चाहार भोटिङ नम्बर -५ उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ्न ।
यो सिजनको प्रतियोगितामा गायन तर्फ बिरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक र नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको भुमिका निभाएका थिए । ५० अंक निर्णायकहरु को मुल्यांकनको आधारमा गरिने, भने बाकी ५० अंक भोटिङ्गबाट गरि कुल १०० अंक रहनेछ। उत्कृष्ट अंकका आधारमा बिजेता, उपबिजेता घोषणा गरिने प्ररिवेक्षक बुधबल गुरुङ ले जानकारी दिएका छन्। साथै आयोजक समूहबाट कुनै पनि प्रतियोगीहरु लाई भोटिङ्ग गर्न नपाउने तथा कसैको पनि प्रचार प्रसार गर्ने नपाउने समेत गुरुङ ले बताए।
प्रतियोगिताबाट विजेता हुने प्रतिस्पर्धीले गायन तर्फ -१ लाख ८१ हजार र नृत्य तर्फ १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन I उपविजेताले समान ७५ हजार रुपैयाँको साथमा प्रमाणपत्र पाउनुको साथै १० जना प्रतिस्पर्धीलाई समेटेरे कतारमै विभिन्न साङ्गितिक कार्यक्रम गरिने पनि बताइएको छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको फिनालेको लागी आवश्यक तयारीको ८० प्रतिशत भैसकेको दुवै सस्थाका अध्यक्ष द्वय रमेश भट्ट र टौमाया गुरुङ ले जानकारी गराएका छन्।