बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

आईएमएफ र सिबिफिनबीच छलफल

आईएमएफ र सिबिफिनबीच छलफल

  • Naveen Sanchar

  • मङ्लबार, अशोज १६, २०८०

  • 149
    Views
आईएमएफ र सिबिफिनबीच छलफल

नवीनसञ्चार सम्वाददाता

काठमाडौं । आईएमएफको मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोली र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वको टोलीवीच यही  सिबिफिन कार्यालय, सुन्धारामा भेटघाट तथा छलफल सम्पन्न भएको छ । आईएमएफको नेपालस्थित कार्यालयसँगको समन्वयमा यस अघि नै तय गरिएको उक्त भेटघाटका क्रममा चालू मौद्रिक नीति, चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन र आर्थिक एवं बैंकिङ क्षेत्रका जल्दाबल्दा विषयमा सघन छलफल भएको छ ।
भेटघाटका क्रममा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले समग्र आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा विकासका मुद्दामा आईएमफसँग निरन्तर छलफल तथा संवाद भइरहेको स्मरण गर्दै अध्यक्ष गोल्यानले नेपालको वर्तमान आर्थिक एवं बैंकिङ क्षेत्रको अवस्था, सुधारका लागि अवलम्बन गरिनुपर्ने नीतिगत एवं व्यवहारिक पक्ष र विकास साझेदार संस्थाको भूमिकाका विषयमा प्रकाश पार्नुभएको थियो ।
मिसन टोलीका प्रमुख टिडियान किन्दासहितका प्रतिनिधिले विश्व अर्थतन्त्रमै शिथिलता छाइरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रमा समेत संकुचन देखिनु स्वभाविक भएतापनि नेपाल सरकारले तत्काल सुधारका कदम चाल्न आवश्यक रहेको बताउनु भएको थियो । नेपाल जस्तो सुन्दर, प्राकृतिक सम्पदा र युवा जनशक्तिले भरिपूर्ण देशले आर्थिक उन्नतिको लय समात्न नसक्नुका कारण, नेपालले आर्थिक सुधारका लागि तत्काल पहलकदमी लिनुपर्ने मुख्य विषय र साझेदार संस्थाको संभावित भूमिकाका विषयमा जिज्ञासा व्यक्त गर्नुभएको थियो ।
मिसन टोलीको जिज्ञासा मेट्दै सिबिफिनका अध्यक्ष गोल्यानले नेपालको कृषि, वनपैदावर, उर्जा, पयर्टनलगायतका क्षेत्रमा देखिएका अथाह संभावनालाई ध्यान दिँदै नेपाल सरकार तथा मातहतका नियामक निकायले मैत्रीपूर्ण नीति र वातावरण बनाइ समग्र निजी क्षेत्रमा उत्साह जगाउनुपर्ने, पूँजीगत खर्च प्रणालीमा व्यापक सुधार गरी पूर्वाधारको विकासमा विशेष जोड दिइनुपर्ने, उत्पादनमूलक, रोजगामूलक र निर्यातमूलक क्षेत्रलाई प्रोत्साहनसहित प्राथमिकता दिइनुपर्ने उल्लेख गर्नुभयो । त्यसैगरी दातृ निकाय तथा विकास साझेदार संस्थाले पनि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्दै नेपालका बैंक तथा वित्तीय संस्थामार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउने विषयमा आवश्यक पहल गर्न अध्यक्ष गोल्यानले टोलीसमक्ष आग्रह गर्नुभएको थियो । त्यसैगरी सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय र कार्यकारी सदस्य उपेन्द्र प्रसाद पौडेललगायतले नेपालको बैंकिङ क्षेत्रले अनपेक्षित चुनौतीको सामना गरिरहेको भएतापनि विश्वासिलो वातावरण, नीतिगत स्थिरता र समय–सान्दर्भिक नीतिको अवलम्बन हुन सकेमा अर्थतन्त्रलाई चलायमान बनाउने सामथ्र्य बैंकिङ क्षेत्रमा रहेको विश्वास व्यक्त गर्नुभएको थियो ।
उक्त भेटघाटका क्रममा अध्यक्ष गोल्यानले “आत्मनिर्भर अर्थतन्त्र र निर्यात संभावनाका क्षेत्रहरु” नामक अध्ययन पुस्तक र विभिन्न समयमा गरिएका महत्वपूर्ण अध्ययन प्रतिवेदनवारे ब्रिफिङ गर्दै मिसन टोली प्रमुख टिडियान किन्दालाई हस्तान्तरण गर्नुभएको थियो । उक्त अध्ययन पुस्तक तथा प्रतिवेदन ग्रहण गर्दै मिसन टोली प्रमुख किन्दाले सिबिफिनले उठाएका विषयका वारेमा आईएमएफलगायतका निकायमा आवश्यक छलफल गर्ने सन्देश व्यक्त गर्नुभएको थियो ।
उक्त भेटघाट तथा छलफलमा आईएमएफ मिसनबाट मिन्क गोर्ट, रसेल ग्रिन, आईएमएफ नेपालकी आवासीय प्रतिनिधि टेरेसा डवान सान्चेज, अर्थशास्त्रीद्वय सुधा दाहाल, सरस्वती शर्मा र सिबिफिनका कोषाध्यक्ष तुल्सीराम अग्रवाल, सचिव कुश प्रसाद मल्ली, सदस्यद्वय उपेन्द्र केशरी न्यौपाने, महेन्द्रकुमार गोयललगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha