
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए)को आगामी कार्यकाल सन् २०२३ देखि २०२५ का लागि मध्यपूर्व संयोजकको पदमा राजेन्द्र अर्यालले उम्मेद्वारी घोषणा गर्नुभएको छ । सशक्त र सक्रिय एनआरएनए अभियन्ता अर्यालले २०२१ देखि २०२३ सम्म मध्यपूर्व संयोजकका रुपमा सशक्त ढंगले गैरआवासीय नेपालीको हकहितका लागि काम गर्नुभएको थियो । मिलनसार, सहयोगी, इमान्दार र लगनशील प्रवृत्तिका अर्यालले निरन्तर पूर्ण समर्पण र तल्लीनताका साथ नेपाल र नेपालीको हितका लागि कार्य गर्दै आउनुभएको छ ।
एनआरएनएले दिएको जिम्मेवारी इमानदारीका साथ पुरा गर्दै आउनुभएका अर्याल गैरआवासीय नेपालीबीच एक सक्रिय, जुझारु, कर्मठ र करुणावान् अभियन्ताका रुपमा सुपरिचित हुनुहुन्छ । गैरआवासीय नेपाली संघका सम्पूर्ण पदाधिकारी, पञ्जीकृत सदस्यबाट विगतमा प्राप्त सहयोगका लागि कृतज्ञता ज्ञापन गर्दै अर्यालले आफ्नो नेतृत्वमा मध्यपूर्व क्षेत्रमा थालनी गरेको र केही नयाँ शुरुआत गर्नुपर्ने कार्यलाई निरन्तरता दिनु पर्ने आवश्यकता महसुस गरी उक्त उम्मेद्वारी दिने निर्णय गरेको अर्यालले बताउनुभयो ।
यस्ता छन् अर्यालका प्रतिबद्धता
मध्यपूर्व संयोजक पदका उम्मेद्वार अर्यालले निर्वाचनमा देहाय बमोजिम प्रतिबद्धता जनाउनु भएको छ :
-राहत तथा उद्दार कार्यमा सदैव तत्पर रहँदै स्वदेश फर्कने नेपालीलाई पुनःस्थापनाको लागि नेपाल सरकार र सरोकारवालसँग समन्वय गर्ने ।
-वैदेशिक रोजगार ऐन, २०६४ को पूर्ण रुपमा कार्यान्वयन गर्न गराउन सरोकारवालासँग पहल गर्ने ।
-आप्रवासी नेपाली कामदारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सहजीकरण गर्ने ।
-अन्य सामाजिक संघसंस्थासँग सहकार्य गर्ने ।
-अन्तर्राष्ट्रिय समन्वय परिषद् र मध्यपूर्वका राष्ट्रिय समन्वय परिषद्सँग सहकार्य गरी कार्ययोजना बनाई कार्यदिशा तय गर्ने ।
-मध्यपूर्वबाट पर्यटकलाई नेपाल भ्रमणका लागि अभिप्रेरित गर्दै पर्यटन प्रवद्र्धन गर्ने ।
=====================PLEASE FEEL FREE TO CONTACT US==========