
काठमाडौँ । नेपाल चिकित्सक संघले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका डा. रञ्जित कुमार यादव र उहाँका परिवारले सामना गरेको मानसिक तनावको क्षतिपूर्ति सम्बन्धित निकायले दिनुपर्ने माग गरेको छ । डा. यादवले न्याय पाउनुपर्ने र दोषीमाथि कार्वाही हुनुपर्ने संघको माग छ । हिरासतमा राखिएका चिकित्सकलाई तारेखमा राखी अनुसनधान गनुपर्ने संघको भनाई छ । आरोप प्रमाणित नभई कुनैपनि चिकित्सकलाई रातारात घरबाट पक्राउ गरी हिरासतमा राख्नु चिकित्सकको निःस्वार्थ सेवाप्रतिको अपमान भएको चिकित्सक संघले ठहर गरेको छ ।संघले अनुसन्धानप्रति आपत्ति नजनाएको भन्दै यसबाट सम्बन्धित चिकित्सक र उनका परिवारमा मानसिक तनाव उत्पन्न भएको बताएको छ । निर्दोष व्यक्तिलाई तनाव दिइनु अस्वीकार्य हुने संघको धारणा छ ।यस विषयमा संघले कानून व्यवसायीसँग परामर्श गर्नुका साथै मंगलबार आकस्मिक बैठक आयोजना गर्ने भएको छ ।
नेपाल मेडिकल काउन्सिलद्वारा लिइने अनुमतिपत्रको परीक्षा उत्तीर्ण नगरी डाक्टर उपाधिको दुरुपयोग गर्ने व्यक्तिका सम्बन्धमा मौन रहने काउन्सिलले आफैले लिएको परीक्षामा उत्तीर्ण भएका चिकित्सकको नाम सीआईबीलाई दिनु निन्दनीय भएको संघले जनाएको छ ।
चिकित्सक संघका केन्द्रीय सदस्य डा. तेज्सु सिंह मल्लले नवीनसञ्चारसँग कुरा गर्दै कुनैपनि चिकित्सकको प्रमाणपत्र शंकास्पद भएमा अनुसन्धान गर्नु ठीक भएको तर अनुसन्धानका क्रममा कुनैपनि व्यक्तिको पहिचान खुलासा नहुनेगरी छानबिन गर्नुपर्ने बताउनुभयो ।नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले मात्र डाक्टर उपाधि लेखी एलोपेथिक चिकित्सा प्राक्टिस गर्नुपर्ने नियम छ तर काउन्सिलमा दर्ता नभई केही स्वास्थ्यकर्मीले खुलेआम डाक्टर उपाधिको दुरुपयोग गरी आमनागरिकमा भ्रम सृजना गरिरहेको डा. मल्ले बताउनुभयो । यसरी खुलेआम कानूनविपरीत काम गर्दा समेत आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै काउन्सिल पन्छिने गरेको तर आफैँले पटक पटक परीक्षा लिएर अनुमति दिएका चिकित्सकको नाम सीआइबीलाई उपलब्ध गराउनु अत्यन्त गम्भीर विषय भएको डा. मल्लको भनाई छ । ‘डाक्टर टाइटल एनएमसीले लेख्न अनुमति दिनुपर्छ तर बजारमा केही प्यारामेडिक चिकित्सक नै नभई डाक्टर लेखेर नागरिकलाई भ्रममा पारिरहेका छन् ।’- उहाँले भन्नुभयो ।