ताबुक, साउदी अरब | नेपाली महावाणिज्यदूतावास जेद्दाको आयोजना तथा गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति ताबुकको समन्वयमा ताबुकमा एकदिने राहदानी नवीकरण तथा श्रमिक सचेतना घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
शुक्रबार, 17 अप्रिल 2026 मा आयोजित उक्त शिविरमार्फत 159 जना नेपाली श्रमिकहरूले राहदानी नवीकरणका लागि आवेदन दिएका छन्। यस कार्यक्रमबाट श्रमिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। साथै, नवीकरण भएका राहदानीहरू वितरण गरिनुका साथै सञ्चालन गरिएको श्रमिक सचेतना कार्यक्रममा केही श्रमिकहरूले कानुनी परामर्शसमेत लिएका छन्।

दूरदराज क्षेत्रमा सेवा प्रवाह गर्ने उद्देश्यले महावाणिज्यदूतावासका कर्मचारीहरू—सुमन पौडेल, राजु बास्कोटा, दिनेश पण्डित र मोहम्मद अब्दुल्ला—उपस्थित थिए। त्यस्तै, गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुकका पदाधिकारीहरू तथा स्थानीय समाजसेवीहरूको सक्रिय समन्वयले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो।
शिविरबाट सेवा लिन ताबुक तथा आसपासका क्षेत्रहरू—हाकल, दुबा, शर्मा, अल वज र ताइमा—बाट नेपाली श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यसैबीच, शिविर सञ्चालनका लागि स्थान उपलब्ध गराई सहयोग पुर्याउने गोरखा नेपाली होटल, ताबुक परिवारप्रति आयोजकले आभार व्यक्त गरेको छ।
