शनिबार, चैत्र २८, २०८२ | April 11, 2026

वैशाख १ गतेदेखि ४ गतेसम्म टोखामा विस्केट जात्रा

वैशाख १ गतेदेखि ४ गतेसम्म टोखामा विस्केट जात्रा

  • Naveen Sanchar

  • शनिबार, चैत्र २८, २०८२

  • 3
    Views
वैशाख १ गतेदेखि ४ गतेसम्म टोखामा विस्केट जात्रा

चैत २८, काठमाडौँ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्त्व बोकेको टोखामा आगामी वैशाख १ गतेदेखि ४ गतेसम्म जात्रा विस्केट (बिस्का) जात्रा आयोजना गरिने भएको छ । टोखा विस्केट जात्रा मूल व्यवस्थापन समितिले पत्रकार सम्मेलनमार्फत चारदिनसम्म जात्रा सञ्चालन हुने जानकारी दिएको हो। जात्रालाई भव्य–सभ्य, व्यवस्थित र मर्यादित बनाउन शान्ति सुरक्षा, स्वयंसेवक परिचालन, पार्किङ, यातायात, बाजागाजा तथा रथ व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको समितिका सह-संयोजक गणेशमान श्रेष्ठले बताउनुभयो ।

चैत मसान्तबाट सुरु हुने यो जात्रा परम्पराअनुसार चार दिनसम्म मनाइन्छ । मसान्तको बिहान भक्तजन शिवपुरीस्थित बागद्वारमा स्नान गर्न जाने र त्यही दिन राति चण्डेश्वरी हुँदै सपनतीर्थ मन्दिर पुग्ने चलन छ। सपनतीर्थ परिसरमा रहेको सिद्धपोखरीमा नयाँ वर्षको पहिलो दिन बिहान स्नान गर्ने परम्परा रहिआएको छ । मसान्तको साँझ सपनविनायक, चण्डेश्वरी र मसानकालीका रथ ‘जाली द्यो’का रूपमा बाजागाजासहित गरिन्छ । बैशाख १ गते नयाँ वर्षको दिन साँझ रथहरू गाउँ परिक्रमा गराइ विभिन्न टोलमा बिसाइन्छ। त्यसपछि दोस्रो र तेस्रो दिन पनि सिन्दूरजात्रा, जीवित गणेश कुमारीको आगमन, विभिन्न देवी-देवताका रथ परिक्रमा तथा धार्मिक अनुष्ठानहरू सम्पन्न गरिन्छन् ।

अन्तिम दिन वैशाख ४ गते सिन्दूरजात्रासहित रथहरू गाउँ परिक्रमा गराई सम्बन्धित मन्दिरमा फर्काइएपछि जात्रा समापन हुन्छ। वैशाख ५ गते बिहान लिङ्गो ढालेर जात्राको विधिवत् विसर्जन गरिन्छ। टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरभित्रका ऐतिहासिक पर्वलाई उच्च प्राथमिकता दिँदै जात्रा व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन र जात्राका अवसरमा नगरपालिकाले एक दिन सम्पूर्ण क्षेत्रमा र दुई दिन जात्रा लाग्ने वडा नं. २ र ३ मा सार्वजनिक बिदा दिईएको बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha