१६ चैत, काठमाडौं । कीर्तिपुर नगरपालिकाको ६ नं. वडास्थित धार्मिक, सांस्कृतिक महत्वको प्राकृतिक सम्पदा टौदह पोखरी र वागमती नदी छेउको बस्ति जोगाउन सिमांकनको काम अघि बढाउने निर्णय गरिएको छ । हिजो चैत १५ गते आईतवार सरोकारवाला निकाय अधिकारसम्पन्न एकिकृत वागमती सभ्यता विकास समितिको आव्हानमा बसेको कीर्तिपुर नगरपालिका, काठमाडौं र ललितपुर जिल्लाको नापी कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकमा भू–क्षयका कारण प्राचीन टौदह पोखरी र बस्ति जोखिममा रहेको तथ्यलाई मध्यनजर गरि नदीले दायॉ–बायॉ जग्गा कटान गरेकाले ०२१ सालको नापी, नक्साअनुसार दुबैतर्फको सिमाना यकिन गरी संरक्षणको कार्य अघि बढाउन आवश्यक नापीको प्राविधिक काम अघि बढाउने निर्णय भएको बताईएको छ ।

कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, अधिकार सम्पन्न एकिकृत वागमती सभ्यता विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जन, ६ नं. वडाका जनप्रतिनिधि र टौदह क्षेत्रका प्रभावित समुदायका प्रतिनिधिहरुका साथै काठमाडौं, कलंकी र ललितपुर नापी कार्यालयका प्राविधिकहरुको सहभागितामा सम्पन्न बैठकमा वारि कीर्तिपुर ६ वडाको बराहघाटदेखि दक्षिणकाली नगरपालिकाको सिमानासम्म र पारि ललितपुर महानगरपालिकाको १८ र २१ वडा खोकनाको सिकाली चौरसम्मको सिमाना छुट्याई संरक्षणको काम अघि बढाउने विषयमा बैठकमा छलफल भएको बताइएको छ । वर्षायाममा नदीमा बढ्ने पानीको धारले सिधै पूर्वबाट पश्चिम टौदह डिलमा हानेर माटो बगाउ‘दै लगेपछि टौदह पोखरीको पानी चुहिन थालेको स्थानीयवासि चिन्तित थिए । साथै वर्षेनी वर्षाको पानीले जमीन कटान गर्न थालेपछि केहि वर्षयता टौदह पारिको बस्ति धरापमा थियो । सिमाना यकिन नहु‘दा संरक्षण योजनाका लागि बजेट विनियोजन भएपनि काम गर्न नसकिएको स्थानीयको गुनासो रहेको छ ।