आइतवार, चैत्र १५, २०८२ | March 29, 2026

जल तथा मौसम विज्ञान केन्द्रीय विभाग ४० वर्षमा

जल तथा मौसम विज्ञान केन्द्रीय विभाग ४० वर्षमा

  • Naveen Sanchar

  • आइतवार, चैत्र १५, २०८२

  • 40
    Views
जल तथा मौसम विज्ञान केन्द्रीय विभाग ४० वर्षमा

चैत १३ काठमाडौं । जल तथा मौसम विज्ञान केन्द्रीय विभागको ४० औं बार्षिकोत्सव समारोह त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा दिपक अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । बार्षिकोत्सव समारोहको उदघाटन गर्नुहुँदै उपकुलपति प्रा.डा अर्यालले विज्ञानका अन्य विभागहरुको तुलनामा ओझेलमा परेको जलतथा मौसम केन्द्रीय विभागले राष्ट्रीय तथा अन्तराष्ट्रीय क्षेत्रमा महत्वपूर्ण योगदान गरेको, देशका लागि आवश्यक उत्कृष्ट जलवायु अध्ययन केन्द्रको रुपमा अघि बढेको, अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण फडको मारेको, राष्ट्रीय तथा अन्तराष्ट्रीय सहकार्य मार्फत गुणस्तरीय शिक्षा दिइरहेको बताउनुभएको थियो । साथै जलवायु लगायत विज्ञान तथा प्रविधि अध्ययन संस्थानका केन्द्रीय विभागहरुले समग्र विश्वविद्यालयको अनुसन्धान तथा शैक्षिक वरियतामा उल्लेखनिय सहयोग पुगेको धारणा व्यक्त गर्नुभएको थियो ।त्रिभुवन विश्वविद्यालयमा निर्माणाधिन एकीकृत प्रयोगशाला लगायतका जलवायु केन्द्रीय विभागसमेतमा बन्न लागेको प्रयोगशालाहरुको दिगो सञ्चालन.मानवसंशाधन र व्यवस्थापनका पक्षमा समेत कार्य गर्ने प्रतिवद्बता व्यक्त गर्नुभएको थियो । विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा शंकर प्रसाद खनालले प्रत्येक वर्ष शैक्षिक र अनुसन्धानका क्षेत्रमा जल तथा मौसम विज्ञान केन्द्रीय विभागले निरन्तर आफूलाई अन्तराष्ट्रीयस्तरको कार्य गरिरहेकोले विभागलाई विद्यार्थीको संख्यामा भन्दा गुणस्तरीय शिक्षामा प्राथमिकता दिन र अनुसन्धान प्राध्यापक तथा विद्यार्थीहरुको संलग्नता बढाउँन अनुरोध गर्नुभएको थियो । जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागिय प्रमुख प्रा.डा टेकबहादुर क्षेत्रीले जलवायु विज्ञानका विद्यार्थीहरुको रोजगारीका बारेमा चिन्ता व्यक्त गर्नुभएको थियो । विभागले शिक्षण क्रियाकलापमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको, विभागको अनुसन्धानात्मक कार्यमा संलग्नता बढेको भएपनि भौतिक पूर्वाधार र कक्षाकोठाको कमि भइरहेकोले समग्र शिक्षण सिकाई क्रियाकलापमा कठिनाई सिर्जना भएको बताउनुभएको थियो ।

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद दवाडीले विभागको बार्षिक शैक्षिक, प्रशासनिक एवं अनुसन्धान क्रियाकलापको समग्र जानकारी गराउँनुहुँदै पाठयक्रम निरन्तर परिमार्जन गरिएको, उपलब्ध प्रयोगशालाहरुलाई व्यवस्थित गरिएको, अन्तराष्ट्रीय सहकार्यमा प्रध्यापक तथा विद्यार्थीको आदान÷प्रदान निरन्तर भइरहेको, अनुसन्धानलाई बढावा दिन देशभरी २५ भन्दा बढी जलवायु तथ्याङ्क संकलन केन्द्रहरु स्थापना गरिएको,सगरमाथाक्षेत्रमा हिमनदीहरुको अध्ययन प्रारम्भ गरेको, जलवायु विषयमा अनुसन्धान कार्यक्रमहरु गरिरहेको, शितकालिन कक्षाहरु संचालन गरिएको, एकसय भन्दा वढी विदेश विद्यार्थीहरुलाई अध्ययन र अनुसन्धानमा संलग्न गराइएको, अनुसन्धानका उपलब्धीहरु जनसमुदायस्तरमा समेत पुर्याइएको विषय संलग्न गर्नुभएको थियो । कार्यक्रममा स्नातकोत्तर तह प्रथम सेमेष्टरमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल अध्ययनरत विद्यार्थी सेजल महर्जन, तेस्रो सेमेष्टरका उत्कृष्ट विद्यार्थी निष्ठा निरौला र टेक बहादुर थामी सम्मानित हुनुभएको थियो । भने चन्द्रलोक जलवायुविज्ञान पुरस्कारबाट अशोक बख्रेल, श्रीमुखी हरिवंशनारायण दास जलवायु पुरस्कारवाट समिर रेग्मी र प्रा.डा सोमेश्वरदार जलवायु उत्कृष्ट अनुसन्धान पुरस्कारवाट सरोज पुडासैनी पुरस्कृत हुनुभएको छ । जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले स्वागत मन्तव्य दिनुहुँदै जलवायु विज्ञानको क्षेत्रमा देशका लागी आवश्यक दक्ष जनशक्ति निर्माण गरेको बताउनुभएको थियो । वार्षिकोत्सव समारोहमा अध्ययनरत विद्यार्थीहरुले ” फूलको आँखामा फुलै संसार” बोलको गितको सामुहिक गायन प्रस्तुत गरेका थिए । विश्वविद्यालय क्याम्पस कीर्तिपुरका प्रिन्सिपल प्रा.डा अक्कल देव मिश्र लगायत विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका केन्द्रीय विभागका विभागीय प्रमुखहरु,जलवायु विज्ञान विषयका प्राध्यापकहरुको सहभागीता रहेको थियो । कार्यक्रम संचालन जलतथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. मदन सिग्देलले गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha