शनिबार, फाल्गुन ३०, २०८२ | March 14, 2026

प्रवासी गायक मल्लको गीत ‘तिम्रै चिनो’ सार्वजनिक

प्रवासी गायक मल्लको गीत ‘तिम्रै चिनो’ सार्वजनिक

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन ३०, २०८२

  • 63
    Views
प्रवासी गायक मल्लको गीत ‘तिम्रै चिनो’ सार्वजनिक

-नवीनसञ्चार, काठमाडौँ ।

संगीतको क्षेत्रमा झण्डै तीन दशकदेखि निरन्तर सक्रिय रहँदै आउनुभएका गायक तथा सर्जक रामकृष्ण बम मल्लको नयाँ गीत ‘तिम्रै चिनो’ सार्वजनिक भएको छ। चर्चित गायक तथा सर्जक बसन्त थापा, रामकृष्ण बम मल्ल र गायिका समिक्षा अधिकारीको आवाजमा सजिएको उक्त गीत “पिरो क्रियशन ” युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। गीतको शब्द बसन्त थापा तथा संगीत रामकृष्ण बम मल्लको रहेको छ भने भिडियो निर्देशन शिव बी.के.ले गरेका छन्। प्रेम र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर तयार गरिएको गीतमा मायाका स्मृति र सम्झनालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। गीतको भिडियोमा कलाकारहरूको अभिनयले कथालाई थप जीवन्त बनाएको छ। आकर्षक छायांकन, भावनात्मक कथा र सुमधुर आवाजका कारण गीतले दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया पाउन थालेको निर्माण टिमले जनाएको छ। नेपाली गीत–संगीत क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आउनुभएका मल्ल हाल प्रवासी भूमि जापानलाई कर्मभूमि बनाउँदै आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै आउनुभएको छ। सुरुवाती चरणमा जापानमा कामदारका रूपमा प्रबेश गर्नुभएका मल्ल अहिले सफल व्यवसायीका रूपमा समेत स्थापित हुनुभएको छ। प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र संगीतप्रतिको आफ्नो लगावलाई निरन्तरता दिँदै उहाँ विभिन्न सांगीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ। गीत सार्वजनिक गर्ने क्रममा सर्जक मल्लले नेपाली गीत–संगीत क्षेत्रमा संख्यात्मकभन्दा पनि गुणात्मक सिर्जनामा ध्यान दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। धेरै गीत निर्माण गर्नेभन्दा पनि दर्शक–श्रोताको मन छुने, सन्देशमूलक तथा दीर्घकालीन प्रभाव पार्ने सिर्जनामा केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ। आफूले पनि यही सोचअनुसार गीत–संगीत सिर्जना गर्दै आएको उहाँले बताउनुभयो। आगामी दिनमा पनि नेपाली गीत–संगीतलाई समृद्ध बनाउने उद्देश्यसहित गुणस्तरीय सिर्जनाहरू ल्याउने तयारी रहेको सर्जक मल्लले बताउनुभयो। गायक मल्ल हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय सचिवका रूपमा जिम्मेवारी निर्वाह गरिरहनुभएको छ। साथै उहाँ विभिन्न सामाजिक संघ–संस्थामा पनि सक्रिय रूपमा आबद्ध भई सामाजिक कार्यमा संलग्न हुनुहुन्छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha