दोहा कतार: गैरआवासीय नेपाली संघको एकताको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट प्रारम्भ हुँदैछ। मध्यपूर्वमा उत्पन्न पछिल्लो तनावका कारण केही साथीहरू बाट अहिलेको समय उपयुक्त नहोला भन्ने टिप्पणीहरू आउनु स्वाभाविक हो, किनकि संघको ठूलो हिस्सा यही क्षेत्रका नेपालीहरूले प्रतिनिधित्व गर्छन्। सहभागिता घट्ने कि भन्ने चिन्ता र भावनात्मक अभिव्यक्तिहरू देखिनु पनि स्वाभाविक नै हो। तर, संघका आफ्नै वैधानिक प्रक्रिया र समयसीमाहरू छन्, जसअनुसार तोकिएको अवधिभित्र महाधिवेशन सम्पन्न गर्नु अनिवार्य छ। मध्यपूर्वको परिस्थितिको अन्त्य कहिले हुन्छ भन्ने अनिश्चितता, र प्रतिनिधिहरूलाई अनलाइन मार्फत सहभागी हुन सकिने व्यवस्थाले गर्दा—यो क्षेत्रका उम्मेदवार तथा प्रतिनिधिहरू अभियानबाट बाहिरिने अवस्था आउने छैन। निर्वाचन समितिले अघि बढाएको यही समावेशी र व्यावहारिक प्रक्रियालाई सराहना गर्नैपर्ने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष पदम गिरीले जोड दिएका छन् ।
—अघिल्ला कमजोरीहरू लाई आत्मसात् गर्दै, सबै क्षेत्रको समान प्रतिनिधित्व र भावनात्मक एकताको आधारमा सर्वसम्मत नेतृत्व चयन गर्नु। यस्तो नेतृत्वले मात्र NRNA एकताको भविष्य उज्ज्वल बनाउँछ। मध्यपूर्वको चुनौतीपूर्ण परिस्थितिका बीच पनि केही अभियन्ताहरू भौतिक रूपमा महाधिवेशनमा सहभागी हुन लाग्नु, र यस क्षेत्रका नेताहरूले अनलाईनबाटै पनि उमेदवारी दर्ता गर्नु यो आफैँमा अत्यन्त सकारात्मक सन्देश हो। यसले देखाउँछ कि परिस्थितिले होइन, इच्छाशक्ति र प्रतिबद्धताले नेतृत्वको दिशा निर्धारण गर्छ।महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र आज महाधिवेशन भैराखेको अवस्थामा अब “किन” र “कसरी” भन्ने बहानाभन्दा पनि, समान सहभागिता र साझा उद्देश्यका साथ एकीकृत नेतृत्व चयन गर्दै महाधिवेशनलाई सफल बनाउनु नै सबैभन्दा ठूलो आवश्यकता हो। साथै अन्तमा अध्यक्ष गिरिले गैरआवासीय नेपाली संघको एकताको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको भव्य सफलताको हार्दिक शुभकामना समेत ब्यक्त गरेका छन् ।