सोमवार, चैत्र २३, २०८२ | April 6, 2026

मध्यपूर्व र इजरायलमा रहेका नेपालीको सुरक्षाका लागि अन्तर्राष्ट्रिय झापाली समाजद्वारा सरकारको ध्यानाकर्षण

मध्यपूर्व र इजरायलमा रहेका नेपालीको सुरक्षाका लागि अन्तर्राष्ट्रिय झापाली समाजद्वारा सरकारको ध्यानाकर्षण

  • Naveen Sanchar

  • बिहिबार, फाल्गुन २८, २०८२

  • 121
    Views
मध्यपूर्व र इजरायलमा रहेका नेपालीको सुरक्षाका लागि अन्तर्राष्ट्रिय झापाली समाजद्वारा सरकारको ध्यानाकर्षण

झापा । मध्यपूर्व तथा इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक परे उद्धारको व्यवस्था गर्न अन्तर्राष्ट्रिय झापाली समाजले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाँई र संस्थापक अध्यक्ष तथा संरक्षक दिनेशकुमार पोखरेलले बुधबार परराष्ट्रमन्त्री बालानन्द शर्मालाई ज्ञापन–पत्र बुझाउँदै त्यस्तो आग्रह गरेका हुन्। समाजका प्रतिनिधिहरू मन्त्रालयमै पुगेर ज्ञापन–पत्र बुझाएका थिए।

ज्ञापन–पत्रमार्फत सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावासलाई सक्रिय बनाई आवश्यक समन्वय गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको अवस्थाबारे जानकारी सुनिश्चित गर्न तथा आवश्यक परेको खण्डमा सुरक्षित स्थानमा स्थानान्तरण र उद्धारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

त्यसैगरी मध्यपूर्व तथा इजरायलमा रहेका नेपालीहरूसँग नियमित सम्पर्क कायम राख्ने, आवश्यक सूचना प्रवाह गर्ने तथा आपतकालीन अवस्थामा सहयोग उपलब्ध गराउने व्यवस्था मिलाउन पनि समाजले आग्रह गरेको छ।

समाजका अध्यक्ष चम्लागाँईले हाल मध्यपूर्व तथा इजरायल लगायतका देशहरूमा देखिएको अस्थिर सुरक्षा परिस्थितिका कारण त्यहाँ कार्यरत तथा बसोबास गरिरहेका नेपाली नागरिकहरू चिन्तित अवस्थामा रहेको बताए। उनका अनुसार त्यहाँ रहेका धेरै नेपाली कामदार तथा विद्यार्थी आफ्नो सुरक्षा र भविष्यप्रति गम्भीर चिन्तामा छन्।

नेपाली नागरिकको जीवन रक्षा र सुरक्षाको विषय अत्यन्त संवेदनशील भएकाले नेपाल सरकारले यस विषयमा आवश्यक पहल र चासो देखाउने विश्वास समाजले व्यक्त गरेको छ।

यस्तै संस्थापक अध्यक्ष तथा संरक्षक पोखरेलले नेपाली नागरिकको सुरक्षा र सम्भावित उद्धारका विषयमा सरकारकोतर्फबाट गर्नुपर्ने पहलमा ढिलाइ हुन नहुने बताएका छन्।

ज्ञापन–पत्र बुझेपछि परराष्ट्रमन्त्री शर्माले परिस्थितिको गम्भीरता बुझेर सरकारले आवश्यक पहल थाल्ने बताएका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha