काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्ला परिस्थितिलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालय ले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्न मन्त्रालय र नेपाली नियोगहरू निरन्तर सक्रिय रहेको जनाएको छ। समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहायताका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको हो।
मन्त्रालयका अनुसार पश्चिम एसियामा रहेका नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासहरू पूर्ववत रूपमा खुला रहेका छन्। राहदानी लगायत अत्यावश्यक सेवाका लागि सेवाग्राहीहरूले सम्बन्धित नियोगले उपलब्ध गराएका फोन नम्बर वा इमेलमार्फत समय मिलाएर सेवा लिन सक्नेछन्।
त्यसैगरी, उक्त क्षेत्रका धेरै मुलुकका निकायहरूले सुरक्षा सावधानीका उपाय तथा सचेतनामूलक जानकारी दैनिक रूपमा अद्यावधिक गरिरहेकाले स्थानीय सरकार र नेपाली नियोगहरूले जारी गर्ने सूचना तथा सावधानीबारे जानकारी राख्न मन्त्रालयले अनुरोध गरेको छ।
मन्त्रालयले पश्चिम एसियामा रहेका सबै नेपाली नागरिकलाई यस विषम परिस्थितिमा संयमित, सचेत र सजग रहन तथा कानून विपरीत हुने किसिमका फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड तथा आदान–प्रदान नगर्न विशेष आग्रह गरेको छ।
पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा सोमबार साँझसम्म ५४ हजार ७८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरिसकेका छन्। प्राप्त विवरणहरू अध्ययन गर्दै आवश्यकता अनुसार थप कदम चालिने मन्त्रालयले जनाएको छ।
यसैबीच पश्चिम एसिया क्षेत्रका अधिकांश स्थानमा हवाई उडान पूर्ण रूपमा नियमित नभए पनि केही स्थानबाट सीमित रूपमा सञ्चालन भइरहेका छन्। संयुक्त अरब इमिरेट्स मा Flydubai र Air Arabia का सीमित उडान सञ्चालनमा रहेका छन् भने दुबई विमानस्थलमा अस्थायी अवरोधपछि उडान पुनः सञ्चालनमा आएको छ।
त्यसैगरी साउदी अरब र ओमान तर्फ हवाई सेवा पुनः सञ्चालनमा आएकाले इच्छुक नेपाली नागरिकले त्यहाँबाट पनि हवाई यात्रा गर्न सक्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले कुनै समस्या आइपरेमा आफ्नो Emergency Control Room वा सम्बन्धित मुलुकस्थित नेपाली नियोगहरूले उपलब्ध गराएका सम्पर्क नम्बर तथा इमेलमार्फत तुरुन्त सम्पर्क गर्न समेत अनुरोध गरेको छ।