काठमाडौँ । मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन समन्वयका विषयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईलाई भेटेर मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिबारे चासो व्यक्त गर्दै आवश्यक तयारी गर्न आग्रह गरेको हो।
भेटका क्रममा अध्यक्ष केसीले मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो अवस्थाले त्यहाँ रहेका प्रमुख श्रम गन्तव्य मुलुकहरूमा त्रास र अनिश्चितताको वातावरण सिर्जना भएको बताउनुभयो। उहाँले संघले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको र आवश्यक परेमा उद्धार, सुरक्षित स्थानान्तरण तथा राहत व्यवस्थापनमा सहयोग गर्न तयार रहेको जानकारी गराउनुभयो।
केसीले विगतमा कोभिड–१९ महामारीका बेला संघले सञ्चालन गरेको Relief, Repatriation and Rehabilitation (RRR) कार्यक्रममार्फत समस्यामा परेका नेपालीहरूको उद्धार र स्वदेश फिर्तीमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै सोही अनुभव र सञ्जाललाई सक्रिय पारेर वर्तमान परिस्थितिमा पनि सहयोग गर्न संघ तत्पर रहेको उल्लेख गर्नुभयो।
उहाँले परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गैरआवासीय नेपाली संघबीच उच्चस्तरीय समन्वय स्थापना गरी आपतकालीन संयन्त्र यथाशीघ्र निर्माण गर्न आग्रह गर्नुभयो।
यसैबीच, परराष्ट्र मन्त्रालयका सचिव राईले पश्चिम एसिया क्षेत्रमा विकसित परिस्थितिपछि त्यहाँ रहेका लाखौँ नेपाली नागरिकको सुरक्षा तथा सम्भावित उद्धारका लागि नेपाल सरकारले ‘र्यापिड एक्सन टिम’ गठन गरी काम सुरु गरेको जानकारी दिनुभयो। उहाँका अनुसार उक्त टोलीले सम्बन्धित निकाय तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्दै आवश्यक कदम चाल्नेछ।
सरकारले अनलाइन पोर्टलमार्फत विदेशमा रहेका नेपालीहरूले आफ्ना समस्या तथा जिज्ञासा जानकारी गराउन सक्ने व्यवस्था समेत सुरु गरेको जानकारी दिँदै सचिव राईले सरकार र गैरआवासीय नेपाली संघबीच सहकार्य गर्दै अगाडि बढिने बताउनुभयो।
उक्त भेटघाटमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री, श्रम आप्रवासन तथा गैरआवासीय नेपाली समन्वय महाशाखा प्रमुख पुष्पराज भट्टराई, पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्का, उपसचिव राजाराम दाहाल लगायतको उपस्थिति रहेको थियो। संघका तर्फबाट आइसीसी सचिव पारसमणि पोखरेल, आइसीसी सदस्य भविन्द्र बस्नेत, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत तथा वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरे पनि सहभागी थिए।