मङ्लबार, बैशाख २९, २०८३ | May 12, 2026

निर्वाचन अनुगमन गर्न उच्चस्तरीय टोली परिचालन

निर्वाचन अनुगमन गर्न उच्चस्तरीय टोली परिचालन

  • Naveen Sanchar

  • मङ्लबार, फाल्गुन १९, २०८२

  • 152
    Views
निर्वाचन अनुगमन गर्न उच्चस्तरीय टोली परिचालन

-नवीनसञ्चार सम्वाददाता
काठमाडौँ ।

राष्ट्रिय मानव अधिकार आयोगले यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको दिनको अनुगमनका लागि देशभरी अनुगमन टोली परिचालन गरेको छ । आयोगले काठमाडौँ उपत्यका तथा उपत्यकाबाहिरका अन्य केही जिल्लाहरुमा निर्वाचन अनुगमनका लागि आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय अनुगमन टोली समेत गठन गरेको छ । यसअघि आयोगले विभिन्न जिल्लामा निर्वाचनपूर्वको अनुगमन गरी प्राप्त तथ्यको अधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाको ध्यानाकर्षण गराइसकेको छ ।

निर्वाचनमा उत्साहजनक सहभागितको आग्रह

निर्वाचनमा उत्साहपूर्ण रुपमा सहभागी हुन र आफ्नो मताधिकारको उपभोग गर्न आयोग सम्पूर्ण मतदाताहरुलाई आयोगले अनुरोध समेत गरेको छ । मौन अवधि सुरु भैसकेको सन्दर्भमा निर्वाचन आचारसंहिताको पालना गर्दै धैर्यता र संयमताका साथ मतदान प्रक्रियालाई सघाउन र सहभागी हुन आयोग सम्पूर्ण राजनीतिक दललाई समेत आयोगको आग्रह छ ।
‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउनु सरकारको दायित्व हो भने यस कार्यलाई सघाउनु राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी तथा आमनागरिकको कर्तव्य हो । निर्वाचन अवधिमा देशको शान्ति सुरक्षामा आवश्यक सतर्कता अपनाई निर्वाचनलार्ई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र मानव अधिकारमैत्री बनाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । राजनीतिक दल तथा अन्य कसैले पनि मौन अवधिमा कुनै पनि अवाञ्छित गतिविधि नगर्न र संभावित अवाञ्छित क्रियाकलापलाई रोक्न आयोग नेपाल सरकार र निर्वाचन आयोगलाई आग्रह गर्दछ ।’-आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गनुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘निर्वाचनको अवधिमा स्वास्थ्यसेवा, एम्बुलेन्स, शववाहन, सञ्चार, पानी, दूध, इन्धन आपूर्ति, असक्त मतदाताहरुका लागि सवारी साधन तथा हवाई उडान जस्ता अत्यावश्यक सेवाहरुलाई सुचारु रुपले सञ्चालन गर्न गराउन समेत आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ । ‘ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ -‘आगामी फागुन २१ गते हुने निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित, विश्वसनीय र मानव अधिकारमैत्री हुनेछ भन्ने आयोगले अपेक्षा र विश्वास लिएको छ ।’


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha