-नवीनसञ्चार सम्वाददाता
काठमाडौँ ।
राष्ट्रिय मानव अधिकार आयोगले इरानमा भएको इजरायल–अमेरिकी आक्रमणका कारण मध्यपूर्वी मुलुकमा देखिएको अन्यौलग्रस्त अवस्था र त्यसबाट त्यस क्षेत्रमा रहेका नेपाली नागरिकमा पर्न जाने प्रभावका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
युद्धका कारण नेपालीहरुमा पर्न जाने असुविधाप्रति गम्भीर चासो र चिन्ता प्रकट गरिएको आयोगले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।
राज्य नागरिकको अविभावक भएको हुँदा विश्वका जुनसुकै मुलुकमा रहेका भए पनि आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यकताअनुसार उद्धार गर्नु राज्यको दायित्वभित्र पने आयोगले जनाएको छ ।
यस विषम परिस्थितिमा सरकारले युद्धग्रस्त तथा प्रभावित देशहरुमा रहेका आफ्ना नागरिकको सुरक्षा र संरक्षणका लागि तथ्याङ्क सङ्कलन गर्ने, पछिल्लो वस्तुस्थितिको बारेमा आवश्यक जानकारी लिने र जोखिममा रहेका नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन तत्काल पहलकदमी लिनु पर्ने आयोगले उल्लेख गरेको छ ।
सरकारले आफ्ना कुटनीतिक नियोगहरुको प्रभावकारी परिचालन गर्नुका साथै सम्बन्धित देशका गैरआवासीय नेपाली सङ्घ/सङ्गठनहरुसँग समेत समन्वय र सहकार्य गर्नु आवश्यक भएको विज्ञप्तीमा उल्लेख छ ।
युद्धग्रस्त तथा प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकहरुको सुरक्षा र संरक्षणको लागि तथ्याङ्क सङ्कलन गरी जोखिमको आँकलन गर्न र अतिप्रभावित क्षेत्रमा रहेका नागरिकहरुको उद्धार गरी स्वदेश फर्काउन नेपाल सरकार तथा विदेशस्थित कुटनीतिक नियोगहरुलाई आयोगले आग्रह गरेको छ ।
नेपाली नागरिकको सुरक्षा र उद्धारका कार्यमा आवश्यक समन्वय र सहयोग गर्न ती देशहरुमा रहेका गैरआवासीय नेपाली सङ्घ/सङ्गठनलाई समेत अनुरोध गरिएको आयोगका प्रवक्ता एवम् सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।