बुधबार, फाल्गुन १३, २०८२ | February 25, 2026

त्रिभुवन विश्वविद्यालयले गण्डकी च्याप्टर निर्माण गर्ने

त्रिभुवन विश्वविद्यालयले गण्डकी च्याप्टर निर्माण गर्ने

  • Naveen Sanchar

  • मङ्लबार, फाल्गुन १२, २०८२

  • 11
    Views
त्रिभुवन विश्वविद्यालयले गण्डकी च्याप्टर निर्माण गर्ने
-नवीनसञ्चार सम्वाददाता
कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयको रणनीतिक योजना तथा दृष्टीकोण अनुरुप त्रिवि सभावाट पारित गरिएको गण्डकी प्रदेश स्थित त्रिविको आंगिक क्याम्पस पृथ्वीनारायण (पीएन) क्याम्पसलाई उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर्ने सम्बन्धी अवधारणामा व्यापक अन्तर्क्रिया गर्ने उदेश्यले आयोजित कार्यशाला गोष्ठीले पृथ्वीनारायण क्याम्पसको आवश्यक कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने निर्णय समेत गरेको छ । त्रिवि को समग्र पुनर्संरचना अभियानको एक हिस्साको रुपमा रहेको गण्डकी च्याप्टर कार्यशालाको उदघाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्याल र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा देवराज अधिकारीले संयुक्त रुपमा गर्नुभएको छ ।
कार्यशाला गोष्ठीलाई सम्वोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्यालले त्रिविको सेवा प्रवाहलाई सरलीकरण गर्ने,विद्यार्थीले प्राप्त गर्नुपर्ने सवै सेवा/ सुविधाहरुलाई नजिकै बाट उपलब्ध गराउने, दीक्षान्त समारोहमा सवै विद्यार्थीहरु उपस्थित हुने अवस्था निर्माण गर्ने, पाठ्यक्रम स्तरीयकरण तथा परीक्षा सम्वन्धि कार्यहरुलाई अधिकार प्रत्यायोजन र मौजुदा ऐनको दायरमा रही नियममा परिमार्जन गरि सेवा प्रवाहलाई सुव्यवस्थित गर्ने योजना रहेको बताउनुभएको थियो । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा देवराज अधिकारीले त्रिभुवन विश्वविद्यालयले उच्चशिक्षा सम्वन्धी सेवा प्रवाहलाई व्यवस्थित गर्न गण्डकी च्याप्टरको अवधारणा ल्याएकोमा खुसी व्यक्त गर्नुहुँदै परिवर्तन र रुपान्तरणका लागी आँट गर्न समेत पदाधिकारीलाई आग्रह गर्नुभयो । “हामीहरु सधै विगतको अवस्थमा रहन सक्दैनौ,समाज बदल्ने प्राध्यापकहरु निडर र आत्मविश्वासी बनौ” । उहाँले दरवन्दी, परीक्षा, प्राविधिक पूर्वाधारका विषयमा अल्जिएर सेवा प्रभावमा सुधार गर्न पछि नहटन सवैलाई अनुरोध गर्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खडग के.सीले गण्डकी च्याप्टर मार्फत चालिस बर्ष अघिको सपनालाई सार्थकता दिन खोजिएको बताउनुभयो । गण्डकी च्याप्टरले प्राज्ञिक स्वायत्तताको अनुभूति गराउने,प्रशासनिक र शैक्षिक सेवा प्रभावलाई व्यवस्थित बनाई विद्यार्थीलाई गुणस्तरीय उच्चशिक्षा आर्जन गर्ने वातावरण मिलाउने, सवै शिक्षकहरुलाई पाठ्यक्रम निर्माण लगायतका अनुसन्धान क्रियाकलापमा संलग्न गराउन ऐनमा भएका प्रावधानका आधारमै पृथ्वीनारायण क्याम्पसमा व्यवस्थापन गर्ने बताउनुभएको थियो । त्रिविका रजिष्ट्रार प्रा.डा केदार प्रसाद रिजालले गुणस्तरीय उच्चशिक्षाको लागी गण्डकी च्याप्टरले उदाहरणीय कार्य गर्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले गण्डकी प्रदेशका आंगिक क्याम्पसहरु सक्षम छन र नेतृत्व गर्न सक्छन भनेर भौतिक,राजनीतिक,कानुनी जटिलताका बावजुत पृथ्वीनारायण क्याम्पस मार्फत कार्यप्रारम्भ गरिएको बताउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा डा .ज्ञान बहादुर थापा त्रिविको व्यवस्थापनका लागी केही दूरदर्शी निर्णय लिनुपर्ने धारणा व्यक्त गर्नुहँदै देशभरी केहि च्याप्टर निर्माण गरेर थप व्यवस्थित,प्रभावकारी र विश्वपरिवेश अनुकुल बनाउनुपर्ने भएकोले आजको दिनलाई ऐतिहासिक मानेर अघि बढन सवैलाई अनुरोध गर्नुभएको थियो । उहाँले त्रिवि भौतिक र मानविय संशाधनमा समृद्ब रहेकोले समग्र उच्चशिक्षाको गुणस्तर र व्यवस्थापनमा कुनैपनि प्रकारको सम्झौता नगरी संघीयताको मान्यता अनुरुप आफना निकायलाई व्यवस्थित गर्नुपर्ने धारणा समेत व्यक्त गर्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा केशरजंग बरालले गण्डकी च्याप्टरको प्रारम्भ पृथ्वीनारायण क्याम्पसमार्फत कैयौ विद्यार्थीहरुले सेवा/सुविधा प्राप्त गर्ने र पुरै गण्डकी प्रदेश लाभान्वित हुने बताउनुहुँदै पदाधिकारीहरुलाई कार्यान्वयनका पेशागत तथा दलिय आस्थामा विभक्त सरोकारवाला शिक्षक,कर्मचारी तथा विद्यार्थी मार्फत हुनसक्ने चुनौतीका बारेमा समेत अवगत गराउनुभएको थियो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणी पौडेलले सेवा प्रभावलाई व्यवस्थित गर्न अधिकार प्रत्यायोजन मार्फत शैक्षिक प्रशासनलाई सरल, प्रभावकारी र व्यवस्थित बनाउन अनुरोध गर्नुभएको थियो ।
नेपालको उच्च शिक्षालाई संघीय संरचनासँग जोडेर गुणस्तरीय, पहुँचयोग्य तथा बाजारमुखी बनाउने दिगो लक्ष्य राखेको उक्त कार्यशालामा गण्डकी च्याप्टर टाक्स फोर्सका संयोजक प्रा.डा लालु प्रसाद पौडेलले उच्चशिक्षालाई स्थानियकरण गर्ने,पाठ्यक्रमहरुलाई बजारको आवश्यकता बमोजिम निर्माण गर्ने, अध्ययन र अनुसन्धानलाई प्रभावकारी बनाउने,परीक्षा प्रणालीलाई सरलीकरण गर्ने,प्रक्रियामुखि तथा झन्झटिलो शैक्षिक प्रशासनलाई प्रभावकारी बनाउने,उच्चशिक्षा अनुकुलको भौतिकपूर्वधार निर्माण गर्ने, मानवस्रोत व्यवस्थापनमा देखिएका व्यवधानहरु समाधान गर्ने, तालिम तथा क्षमता अभिबृद्बीमा देखिएका विभेदहरु कम गर्ने र समग्र उच्चशिक्षाको सम्पूर्ण प्रक्रियालाई व्यवहारिक रुपमा विकेन्द्रित गर्न महत्वपुर्ण प्रारम्भ हुने बताउनुभयो । उहाँले त्रिविले हाल भोगिरहेका प्राज्ञिक चुनौतिहरु र विश्वका ठूला विश्वविद्यालयहरुको समग्र व्यवस्थापन र त्रिविले लिनसक्ने आगामी गन्तव्य समेटिएको कार्यपत्र प्रस्तुत गर्नुहुँदै गण्डकी च्याप्टरको आवधारण अत्यन्तै महत्वपूर्ण र आवश्यक रहेको बताउनुभएको थियो । गण्डकी प्रदेशमा सवैभन्दा वढि विद्यार्थी पृथ्वीनारायण क्याम्पसमा रहेको र पोखरा आसपासका आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसमा विद्यार्थी धेरै रहेकोले पनि गण्डकी च्याप्टर औचित्यपूर्ण हुने बताउनुभयो । पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख हरी प्रसाद पाठकले गण्डकी च्याप्टर निर्माणमा पृथ्वीनारायण क्याम्पसको भौतिक तथा मानवस्रोतको अवस्था, आर्थिक स्रोत व्यवस्थापन लगायतका विषयहरु समेटीएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा व्यवस्थापन संकायका डीन प्रा.डा महानन्द चालिसे, त्रिवि कार्यकारी परिषदका सदस्य डा.जगतकृष्ण श्रेष्ठ, त्रिवि योजना निर्देशनालयका निर्देशक डा.लक्ष्मीकान्त शर्मा,त्रिवि सभा तथा कार्यकारी परिषदको कार्यालयका प्रमुख नविन्द्र प्रसाद भण्डारी, शिक्षाध्यक्षको कार्यालयका कार्यालय प्रमुख गोविन्द थापा, रजिष्ट्रारको कार्यालयका कार्यालय प्रमुख कमल प्रसाद घिमिरे लगायत गण्डकी प्रदेशमा रहेका त्रिविका ७ बटै आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरु,पृथ्वीनारायण क्याम्पसमा कार्यरत प्राध्यापक,कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha