सोमवार, फाल्गुन ११, २०८२ | February 23, 2026

अल–कासिमको बुरैदामा राहदानी नवीकरण घुम्ती सेवा तथा श्रमिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न

अल–कासिमको बुरैदामा राहदानी नवीकरण घुम्ती सेवा तथा श्रमिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न

  • Naveen Sanchar

  • आइतवार, फाल्गुन १०, २०८२

  • 17
    Views
अल–कासिमको बुरैदामा राहदानी नवीकरण घुम्ती सेवा तथा श्रमिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न

अल–कासिम, साउदी अरब (२० फेब्रुअरी २०२६) — नेपाली राजदूतावास, रियादगैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति अल–कासिमको सहकार्यमा साउदी अरबको अल–कासिम प्रान्तस्थित बुरैदा शहरमा राहदानी नवीकरण घुम्ती सेवा सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त घुम्ती सेवाअन्तर्गत राहदानी नवीकरण फाराम संकलन, राहदानी वितरण, ट्राभल डकुमेन्टलगायत विभिन्न सेवा–सुविधा प्रदान गरिएको थियो। कार्यक्रम नेपाली राजदूतावास, रियादका द्वितीय सचिव अमर नेपालीको नेतृत्वमा सम्पन्न भएको थियो। उहाँसँगै तृतीय सचिव कमल कुँवर तथा स्थानीय कर्मचारीहरू डेभिड महर्जन, हेमन्त आचार्य, अब्दुल्ला राई र ध्रुवराज तिम्सिनाले सेवा प्रदान गरेका थिए।

सोही अवसरमा नेपाली राजदूतावास, रियादका श्रम सहचारी कविराज उप्रेतीको नेतृत्वमा प्रथम सचिव टिकराम शर्मा, तृतीय सचिव दिनेश प्रसाद शिवाकोटी तथा जनसम्पर्क अधिकृत सरोज चन्द्र अधिकारीले साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूका लागि श्रमिक सचेतना कार्यक्रम सञ्चालन गरेका थिए। एनआरएनए एनसीसी साउदी अरबका सचिव ध्रुवराज कटुवालद्वारा सञ्चालित उक्त कार्यक्रममा अल–कासिम क्षेत्रमा रहेका विभिन्न संघ–संस्थाका पदाधिकारी, एनआरएनए अभियन्ता तथा नेपाली श्रमिक दाजुभाइ–दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा साउदी अरबमा बसोबास तथा रोजगारीका क्रममा पालना गर्नुपर्ने नियम–कानुन, श्रमिक अधिकार तथा हित, सामाजिक सुरक्षा र यसका लाभहरूबारे जानकारी दिइएको थियो। साथै विभिन्न कम्पनीहरूमा कार्यरत नेपाली श्रमिकहरूले भोग्दै आएका समस्यासम्बन्धी प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। सहभागिहरूले कार्यक्रम अत्यन्त उपयोगी र जानकारीमूलक रहेको प्रतिक्रिया दिएका थिए।

यस सेवाबाट अल–कासिमसहित आसपासका अनैजा, हायल, जुल्फी लगायत विभिन्न स्थान तथा कम्पनीहरूमा कार्यरत २८८ जना नेपाली श्रमिकहरू प्रत्यक्ष लाभान्वित भएका छन्।

राजदूतावास, रियादद्वारा जारी पूर्वसूचनाअनुसार राहदानी नवीकरणका लागि Pre-Enrollment फाराम सेवाग्राही स्वयंले भरेर उपस्थित हुनुपर्ने व्यवस्था रहेको थियो। उक्त फाराम भर्न नसक्ने तथा पहुँच नपुगेका श्रमिकहरूलाई सेवा दिन एनआरएनएका पदाधिकारीहरूले पूर्वसूचना प्रकाशित भएदेखि नै व्यापक प्रचार–प्रसार गर्दै निःशुल्क रूपमा फाराम भर्ने सहयोग गरेका थिए।

कार्यक्रमका लागि टोली बिहीबार साँझ बुरैदामा पुगेर शुक्रबार बिहान ७:०० बजेदेखि बेलुका ४:०० बजेसम्म निरन्तर खटिई सेवाग्राहीहरूलाई सेवा प्रदान गरिएको थियो।

राहदानी नवीकरण घुम्ती सेवालाई व्यवस्थित र सफल बनाउन एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य विशालकुमार श्रेष्ठ, एनआरएनए राष्ट्रिय समन्वय परिषद् साउदी अरबका उपाध्यक्ष मनिष कोइराला, आरसीसी अल–कासिम प्रमुख सल्लाहकार राजकुमार श्रेष्ठ, एनसीसी सचिव ध्रुवराज कटुवाल, सदस्य काजीमान कण्डङ्वा, सदस्य कृष्ण अधिकारी, आरसीसी सल्लाहकार तथा समाजसेवी तिल राना, क्षेत्रीय समन्वय समिति अल–कासिमका अध्यक्ष विनोद खड्कालगायत सम्पूर्ण आरसीसी टिम तथा अल–कासिम क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधि र समाजसेवीहरूको उल्लेखनीय भूमिका रहेको थियो।

रियादस्थित राजदूतावाससम्म धाउनुपर्ने बाध्यता र खर्चिलो यात्राबाट मुक्त भएकोमा सेवाग्राहीहरू अत्यन्त खुशी देखिएका थिए।

अन्त्यमा, सेवाभावका साथ अल–कासिममा उपस्थित भई अहोरात्र नेपाली श्रमिकहरूलाई सेवा प्रदान गर्ने नेपाली राजदूतावास, रियादको सम्पूर्ण टोली तथा अल–कासिममा सक्रिय एनआरएनए अभियन्ता र सहयोगीहरूलाई हार्दिक आभार व्यक्त गरिएको छ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha