मङ्लबार, फाल्गुन २६, २०८२ | March 10, 2026

वैदेशिक रोजगारीमा जाने नेपालीको सुरक्षा गर्नुपर्छ : जीवन कुमार राम

वैदेशिक रोजगारीमा जाने नेपालीको सुरक्षा गर्नुपर्छ : जीवन कुमार राम

  • Naveen Sanchar

  • आइतवार, फाल्गुन ३, २०८२

  • 187
    Views
वैदेशिक रोजगारीमा जाने नेपालीको सुरक्षा गर्नुपर्छ : जीवन कुमार राम

नेपालको  सप्तरी जिल्लास्थित सुरुङ्गा नगरपालिका वडा नं. ६, कडरबोना घर भई हाल साउदी अरबमा रहनुभएका जीवन कुमार राम नवीसञ्चार अनलाइनका शुभचिन्तक एवं नियमित पाठक हुनुहुन्छ । प्रस्तुत छ, चमार कल्याण समाज, साउदी अरबका उपाध्यक्ष एवं गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, रियादका सदस्य समेत रहनुभएका रामसँग गरिएको आत्मीय कुराकानी :

प्रश्नः तपाईं कहाँ जन्मिनुभयो ? नेपालको घर कहाँ पर्छ ?
उत्तरः म नेपालको सप्तरी जिल्लामा जन्मिएको हुँ। मेरो स्थायी घर पनि त्यहीँ हो। बाल्यकालदेखि युवावस्थासम्मका धेरै अनुभव र सम्झनाहरू त्यहीँ जोडिएका छन्।
प्रश्नः जन्मभूमिको सम्झना कत्तिको आउँछ ?
उत्तरः जन्मभूमिको सम्झना सधैं आइरहन्छ। परिवार, चाडपर्व, गाउँको वातावरण र आफ्नै माटोको माया धेरै महसुस हुन्छ। विदेशमा हुँदा त्यो कमी झन् गहिरो हुन्छ।
प्रश्नः साउदी अरब आएको कति भयो ?
उत्तरः म साउदी अरब आएको करिब १० वर्ष भयो।


प्रश्नः साउदी अरबमा बसेर काम गर्दा अनुभव कस्तो रह्यो ?
उत्तरः अनुभव मिश्रित रह्यो। काम गर्ने अवसर पाएको छु तर भाषा, मौसम, कामको चाप र परिवारबाट टाढा बस्नु चुनौतीपूर्ण छ। यसले मलाई धैर्य र जिम्मेवारी सिकाएको छ।
प्रश्नः साउदीमा के पाउनुभयो र के गुमाउनुभयो ?
उत्तरः यहाँ बसेर कामको अनुभव र आम्दानी पाएको छु। तर परिवारसँग बिताउने समय, चाडपर्वको रमाइलो र आफ्नै देशमा बस्ने सुख गुमेको महसुस हुन्छ।
प्रश्नः साउदीमा कार्यरत नेपालीहरूको अवस्था कस्तो देख्नुहुन्छ ?
उत्तरः नेपाली इमान्दार र मेहनती हुन्छ । तर सबैको अवस्था राम्रो छैन। कम तलब, लामो काम,तलबको समस्या, कानुनी समस्या धेरैको साझा पीडा हो। साउदीको नियम र कानुनको बारेमा जानकारी हुदाँ हुदै कुलतमा लाग्ने जस्ता समस्याहरु रैछ।
प्रश्नः साउदी अरब र नेपालबीच के कस्ता भिन्नता पाउनुभयो ?
उत्तरः साउदी अरबमा नियम कडा छन् र पूर्वाधार राम्रो छ। नेपालमा आत्मीयता, स्वतन्त्रता र प्राकृतिक सुन्दरता बढी छ, तर रोजगारीका अवसर सीमित छन्।
प्रश्नः नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड र नेपाली दूतावासलाई के सुझाव दिन चाहनुहुन्छ ?
उत्तरः वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको सुरक्षा, सही सूचना र कानुनी सहयोगलाई प्राथमिकता दिनुपर्छ। दूतावासको सेवा अझ प्रभावकारी र सहज हुनुपर्छ।


प्रश्नः सम्भावना हुँदाहुँदै पनि नेपालको विकास हुन नसक्नुको कारण के होला ?
उत्तरः राजनीतिक अस्थिरता, भ्रष्टाचार, कमजोर कार्यान्वयन र युवालाई देशमै अवसर दिन नसक्नु मुख्य कारण हुन् जस्तो लाग्छ।
प्रश्नः तपाईंको विचारमा जीवन के हो ?
उत्तरः जीवन संघर्ष, जिम्मेवारी र आशाको यात्रा हो। दुःख र सुख दुवै स्वीकार गर्दै अघि बढ्नु नै जीवन हो।
प्रश्नः नेपाली दाजुभाइ दिदीबहिनीलाई के सन्देश दिन चाहनुहुन्छ ?
उत्तरः लक्ष्य स्पष्ट राख्नुस्, मेहनत र इमान्दारिता नछोड्नुस्। जहाँ भए पनि आफ्नो देश र परिवारलाई नबिर्सिनुस्।
जुन देशमा हुनुहुन्छ त्यो देशको नियम कानुनको दायरामा रही काम गर्नुहोस् भने अनुरोध गर्छु।
प्रश्नः अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
उत्तरः सबै नेपालीले सुरक्षित, सम्मानित र आत्मनिर्भर जीवन बाँच्न पाऊन् भन्ने चाहना छ। भविष्यमा वैदेशिक रोजगारी बाध्यता होइन, विकल्प बनोस्। मेरो विचार स्वदेश तथा विदेशमा रहनुहुने आम नेपाली दाजुभाइ, दिदीबहिनीमाझ सम्प्रेषण गरिदिनुभएकोमा नवीनसञ्चार अनलाइन परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha