शनिबार, फाल्गुन ३०, २०८२ | March 14, 2026

साउदी अरबमा थप कन्सुलर कार्यालय स्थापनाको माग गर्दै श्रम मन्त्रीको ध्यानाकर्षण

साउदी अरबमा थप कन्सुलर कार्यालय स्थापनाको माग गर्दै श्रम मन्त्रीको ध्यानाकर्षण

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • बुधबार, माघ १५, २०८२

  • 125
    Views
साउदी अरबमा थप कन्सुलर कार्यालय स्थापनाको माग गर्दै श्रम मन्त्रीको ध्यानाकर्षण

साउदी अरब रियाद नबिन सन्चार

साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको समस्या समाधान तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन थप कन्सुलर कार्यालय स्थापना गर्न प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय राजेन्द्र सिंह भण्डारीज्यूको ध्यानाकर्षण गराएको छ।

मन्त्री भण्डारीज्यूको साउदी अरब भ्रमणको क्रममा प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबका तर्फबाट बुझाइएको ध्यानाकर्षण पत्रमा हाल साउदी अरबमा झण्डै चार लाखभन्दा बढी नेपाली श्रमिकहरू कार्यरत रहेको उल्लेख गर्दै, भौगोलिक रूपमा अत्यन्तै ठूलो देश भएको कारण हाल सञ्चालनमा रहेको एक मात्र दूतावास र कन्सुलर कार्यालयले सम्पूर्ण श्रमिकको सेवा तथा समस्या समाधान गर्न कठिनाइ भइरहेको विषय उठाइएको छ।

विशेष गरी साउदी अरबको पूर्वी क्षेत्रमा मात्र करिब दुई लाख नेपाली श्रमिकहरू कार्यरत रहेको उल्लेख गर्दै सो क्षेत्रमा थप एक कन्सुलर कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। यसले श्रमिकहरूका समस्या समयमै सुन्न र समाधान गर्न सहज हुने विश्वास व्यक्त गरिएको छ।

यसैगरी “फ्री भिसा, फ्री टिकट” भनिए पनि श्रमिकहरूले अझै ठूलो रकम खर्च गरेर वैदेशिक रोजगारीमा आउनुपर्ने बाध्यताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै, यस्ता अनियमितता रोक्न सम्बन्धित निकायमार्फत कडाइका साथ कार्यान्वयन गर्न माग गरिएको छ।

पत्रमार्फत साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको गुनासो, समस्या तथा सुझावहरू समयमै संकलन र समाधान गर्न राजदूतावाससँग समन्वय गरी नियमित (कम्तीमा साप्ताहिक) अनलाइन बैठक सञ्चालन गर्नुपर्ने प्रस्ताव पनि राखिएको छ।

प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको हक–हित, सुरक्षा र सेवामा सुधार ल्याउन मन्त्रालयबाट सकारात्मक पहल हुने विश्वास व्यक्त गरेको छ।

उक्त ध्यानाकर्षण पत्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय राजेन्द्र सिंह भण्डारीज्यूलाई उहाँको साउदी अरब भ्रमणकै क्रममा प्रत्यक्ष रूपमा बुझाइएको हो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha