मङ्लबार, चैत्र ३, २०८२ | March 17, 2026

गद्यकविता शीर्षकः भोट होइन, प्रश्नको कविता

गद्यकविता शीर्षकः भोट होइन, प्रश्नको कविता

  • Naveen Sanchar

  • मङ्लबार, माघ १४, २०८२

  • 143
    Views
गद्यकविता  शीर्षकः भोट होइन, प्रश्नको कविता

गद्यकविता
शीर्षकः भोट होइन, प्रश्नको कविता

शुभ विहानी होइन यो
यो चेतनाको घण्टी हो।
भोट माग्न आउँदा, नेता हो,
हामी तिमीलाई फूल होइन
१५ प्रश्नको काँडा दिन्छौँ।
जनताको टाउकोमाथि
२८ खर्बको पहाड राखेर
कुन सपनाको भाषण गर्छौ?
यो ऋण तिर्ने योजना कहाँ छ
कि सन्तानको काँधमै सुम्पेर
तिमी फेरि मञ्च चढ्ने हो?
भन
कुन खेतमा खन्यायौ यो ऋण?
कुन कारखानामा फलायौ?
कुन अस्पताल, कुन विद्यालय
उत्पादनशील बने?
कि कागजमै हरायो
कमिसनको अँध्यारोमा?
देश युवा निर्यातको गोदाम बन्यो,
आमा–बाबु आँसु निर्यात गर्छन्।
देशमै रोजगारीको
पाँच वर्षे खाका कहाँ छ?
कि पासपोर्ट नै
तिमीहरूको विकास मोडल हो?
विदेशबाट फर्किएका हातहरू
सीप बोकेर उभिँदा
यहाँ किन ढोका बन्द?
लगानी, सम्मान, रोजगारी
कागजमा मात्र कि
व्यवहारमा पनि?
भ्रष्टाचार हाम्रो परिचय बन्यो,
लाज लाग्दैन?
ठूला माछा सधैँ किन पौडिन्छन्?
शून्य सहनशीलताको
पहिलो निर्णय के हो?
भाषण होइन
हस्ताक्षर देखाऊ।
सरकारी स्कूल, अस्पताल
जानाजानी कमजोर बनाइए
किन?
नेताले विदेशमा उपचार,
जनता औषधि बिना मृत्यु
२८ खर्बको ऋण बोकेर
यो विलास सुहाउँछ?
पटक–पटक प्रधानमन्त्री हुनेहरू
राज्यको पैसाले
विदेश उड्दा
तिमीहरू किन मौन?
राष्ट्रको धन
फिर्ता गराउने आँट छ?
सेवा किन लुलो?
किसान किन हरेक वर्ष रुन्छ?
कृषि सुधारको
वस्तुगत योजना कहाँ छ?
गरिबले पनि
सम्मानसाथ
पढ्न र बाँच्न पाउने
ग्यारेन्टी दिन्छौ?
दया होइन
अधिकार चाहिन्छ।
तिमीहरूको पार्टीभित्र
असफल नेतृत्व हटाउने
लोकतन्त्र छ?
छ भने
किन अनुहार फेरिँदैन?
मेरो क्षेत्रमा विकास गर्छौ रे
विश्वास गर्ने आधार के?
पोस्टर? भाषण? कि
कागजमा हस्ताक्षर?
विकासका नाममा
ठेक्का–दलाली–कमिसन
सिण्डिकेट तोड्ने
उपाय के?
तिमी मिसिँदैनौ भन्ने
ग्यारेन्टी के?
र अन्तिम प्रश्न
बालबालिका मारिँदा
पश्चाताप गर्‍यौ?
समवेदना छाप्यौ?
घाइतेको ढोका ढक्ढक्यायौ?
कि फेरि
मौनको राजनीति?
यसैले सुन
हामी भाषण सुन्दैनौँ।
खोक्रा सपना सुन्दैनौँ।
भोट माग्न आउनुहोस्, नेता
तर
यी प्रश्नका उत्तर बोकेर आउनुहोस्॥

✍️प्रेम घिमिरे
संयुक्त राज्य अमेरिका 🇺🇸


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha