बिहिबार, फाल्गुन ७, २०८२ | February 19, 2026

नेपाल–साउदी अरबबीच साधारण श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर

नेपाल–साउदी अरबबीच साधारण श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • आइतवार, माघ १२, २०८२

  • 237
    Views
नेपाल–साउदी अरबबीच साधारण श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर

रियाद, साउदी अरब — नबिन सन्चार

नेपाल सरकार र साउदी अरब सरकारबीच साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौता (Agreement on Workers Recruitment Between the Government of Nepal and the Government of the Kingdom of Saudi Arabia) मा मिति २०८२ माघ ११ गते आइतबार साउदी अरबको रियादमा हस्ताक्षर सम्पन्न भएको छ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री माननीय अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गर्नुभएको हो।

सम्झौतामा हस्ताक्षर हुनुअघि दुबै देशका माननीय श्रम मन्त्रीज्यूहरूबीच द्विपक्षीय बैठक सम्पन्न भएको थियो। सो अवसरमा मन्त्री भण्डारीले यस सम्झौताले नेपाल–साउदी अरबबीचको श्रम सहकार्यलाई थप संस्थागत, पारदर्शी र मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले उक्त सम्झौता नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी बनाउन महत्वपूर्ण दस्तावेज हुनेमा जोड दिनुभयो। साथै, यसले साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण र रोजगार सुरक्षामा टेवा पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभयो।

द्विपक्षीय श्रम सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौताको कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणलगायत विषयहरूलाई प्राथमिकताका साथ समेटिएको छ। सम्झौताले दुवै देशका प्रचलित कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड तथा आपसी समझदारीको आधारमा श्रमिकहरूको हित सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

यस सम्झौतामार्फत साउदी अरबमा हाल कार्यरत तथा भविष्यमा रोजगारीका लागि आउने नेपाली श्रमिकहरूको सेवा सुविधा, सुरक्षा र स्थायित्व थप सुदृढ हुने विश्वास लिइएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha